२ जेठ,काठमाडौं । सुकुम्वासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका १४ जना बालबालिकालाई काठमाण्डौ महानगरपालिकाले होस्टेलमा राखेर निःशुल्क अध्ययनको व्यवस्था गरेको छ।
कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर, विद्यालय तथा सुकुम्वासी अभिभावकबीच सम्झौता गरी कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बसिरहेका १० वर्षभन्दा माथिका १४ बालबालिकालाई होस्टेल पठाउने निर्णय गरेको हो।
महानगरका अनुसार ती बालबालिकालाई कक्षा १० सम्म आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ। हाल कीर्तिपुर होल्डिङ सेन्टरमा ६१ जना बालबालिका रहेका छन्। शिक्षा विभागले नाम दर्ता गरेका केही बालबालिका भने अभिभावकसँगै बाहिर भाडाको घरमा बस्न गएको जनाएको छ।
महानगरले प्याब्सन अन्तर्गतका १० वटा तथा एनप्याब्सन अन्तर्गतका ३ वटा विद्यालयसँग सहकार्य गरेको जनाएको छ।
विस्थापित अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा अध्ययन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।