Logo

२ जेठ,काठमाडौं । ठूला सरकारी अस्पतालहरूमा खरिद गरिएका करोडौँ रुपैयाँका अत्याधुनिक स्वास्थ्य उपकरणहरू जनशक्ति अभावका कारण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ।

महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार पेश गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सरकारी अस्पतालहरूमा महँगा उपकरणहरू वर्षौँदेखि प्रयोग नभएको तथ्य सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार दक्ष जनशक्तिको अभावका कारण राष्ट्रिय ट्रमा सेन्टरदेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्मका अत्याधुनिक उपकरणहरू प्रयोगविहीन अवस्थामा छन्। यसले नागरिकलाई महँगो शुल्क तिरेर निजी अस्पतालमा सेवा लिन बाध्य बनाएको र सरकारी लगानी खेर गइरहेको महालेखाको निष्कर्ष छ।

काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढी मूल्यको क्याथ ल्याब मेसिन २०७२ सालदेखि सञ्चालनमा आउन सकेको छैन। त्यस्तै २४ करोड ७७ लाख रुपैयाँ बराबरको सीटी स्क्यान सिस्टम, १४ वटा भेन्टिलेटर र अन्य उपकरण पनि प्रयोगविहीन छन्।

त्यसैगरी भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि प्रयोग हुने टेलिथेरापी मेसिन चार वर्षदेखि बन्द अवस्थामा रहेको उल्लेख गरिएको छ। सो उपकरणमा रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएको र जोखिम कायमै रहेको प्रतिवेदनले जनाएको छ।

मधेश प्रदेशको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि एक्सरे मेसिन, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिनलगायतका उपकरण प्रयोगविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिमा ६० प्रकारका औषधि उत्पादनसम्बन्धी मेसिन थन्किएको, र पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान तथा १.५ टेस्ला एमआरआई मेसिन प्रयोगविहीन रहेको पनि प्रतिवेदनले देखाएको छ।

स्वास्थ्य सेवा विभागले नयाँ उपकरण खरिद गर्दा पनि पुराना उपकरण सञ्चालनमा नआउँदा दोहोरो खर्च बढेको महालेखाको निष्कर्ष छ।

प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपकरणको प्रभावकारी उपयोग सुनिश्चित गर्न, अनुगमन गर्न र दक्ष जनशक्ति व्यवस्थापन गर्न तत्काल कदम चाल्न निर्देशन दिएको छ।


सम्बन्धित समाचार
भर्खरै