३ जेठ, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रचण्डले अहिले देशको राजनीति र सरकार सही बाटो (ट्र्याक) मा अगाडि बढ्न नसकेको दाबी गरे । वर्तमान सरकारमाथि चौतर्फी संशय र प्रश्नहरू उब्जिएकाले आफूहरूले यसलाई समर्थन गर्न नसक्ने उनले प्रष्ट पारे ।
संयोजक प्रचण्डले मुलुकका आधारभूत र गम्भीर प्रकृतिका समस्या समाधान गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए। “देशमा सुकुम्बासीहरूको समस्या जस्ताको तस्तै छ, यो झन् गम्भीर बन्दै गएको छ,” उनले भने, “ट्रेड युनियन र विद्यार्थीका हकहितसँग सम्बन्धित विषयहरूलाई पनि सरकारले बेवास्ता गरेको छ।”
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधनको प्रसङ्गलाई लिएर पनि उनले कडा टिप्पणी गरे । सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार पार्ने भने पनि त्यो पारदर्शी र संशयमुक्त नभएको भन्दै उनले यो विषय आफैँमा गम्भीर छलफलको घेरामा परेको उल्लेख गरे ।
प्रधानमन्त्री बालेन शाहको कार्यशैली र नियतमाथि सिधा प्रहार गर्दै प्रचण्डले संसद्लाई छलेर चोरबाटोबाट अध्यादेश ल्याउने प्रवृत्तिको कडा आलोचना गरे। “सरकारसँग झन्डै दुई-तिहाइको बहुमत छ, आफैँले सदन बोलाएर नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सक्ने अवस्था हुँदाहुँदै संसद्लाई छलेर अध्यादेशको बाटो रोज्नु आफैँमा लाजमर्दो कुरा हो,” प्रचण्डले आक्रोश पोखे, “यसले वर्तमान सरकारको नियत सफा छैन भन्ने प्रष्ट पार्छ, जसको हामीले दृढतापूर्वक प्रतिवाद गरिरहेका छौँ।”
संयोजक प्रचण्डले सुरुवाती दिनहरूमा सरकारका कतिपय एजेन्डा ठिकै ठानेर आफूहरूले रचनात्मक सहयोगको नीति लिएको स्मरण गरे। तर, सरकारका पछिल्ला गतिविधिहरू निरङ्कुशता र गैरजिम्मेवारी तर्फ उन्मुख हुँदै गएपछि समर्थन गर्न सकिने कुनै ठाउँ बाँकी नरहेको उनको भनाइ छ ।
“अब सरकारका कतिपय कदमको विरोध मात्र होइन, जनताको तहबाटै सशक्त प्रतिवाद गर्नुपर्ने धेरै आधारहरू देखिएका छन्,” उनले थपे, “मैले सदनमार्फत पनि सरकारलाई बेलैमा सतर्क हुन र सच्चिन सुझाव दिइसकेको छु।” सरकारले यी चेतावनी र जनआवाजलाई गम्भीरतापूर्वक नलिए देशव्यापी रूपमा सडक र सदन दुवैतर्फबाट आन्दोलन र प्रतिवादको आँधीबेहरी सिर्जना हुने चेतावनी समेत उनले दिएका छन् ।


















