Logo

३ जेठ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने रहस्यमय संकेत दिएपछि मध्यपूर्वमा तनावको नयाँ तरंग पैदा भएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा सैन्य कमान्डरहरूसँग उभिएको एउटा एनिमेटेड तस्बिर पोस्ट गर्दै त्यसलाई ‘आँधी आउनुभन्दा अघिको शान्ति’ भनी अर्थपूर्ण क्याप्सन लेख्नुभएको छ ।

उक्त तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिनुभएको छ भने आसपासको वातावरणमा आँधीबेहरीका साथै इरानको झन्डा फहराइरहेको देखाइएको छ, जसलाई विश्वभरका कूटनीतिक वृत्तमा युद्धको पूर्वसंकेतका रूपमा हेरिएको छ ।

यो पोस्ट सार्वजनिक हुनुअघि नै न्युयोर्क टाइम्सले अमेरिका र इजरायल पुनः इरानमाथि हमला गर्ने तयारीमा जुटेको रिपोर्ट प्रकाशित गरेको थियो । उक्त रिपोर्टका अनुसार पेन्टागनले इरानविरुद्ध सैन्य कारबाहीका लागि विभिन्न विकल्पहरू तयार पारिसकेको छ र अब अन्तिम निर्णय लिन मात्र राष्ट्रपति ट्रम्पको आदेश पर्खिएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि आवश्यक परेको खण्डमा सैन्य कारबाहीलाई थप कडा बनाउन आफूहरू पूर्ण तयारी अवस्थामा रहेको दाबी गर्नुभएको छ । विशेषगरी इरानका सैन्य अड्डाहरू र रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाएर ठुला हवाई हमला गर्ने योजना अमेरिकाले बुनिरहेको अधिकारीहरूको बुझाइ छ ।

यता, अमेरिकाको यस्तो तयारी र राष्ट्रपतिको संकेतप्रति इरानले कडा आपत्ति जनाउँदै गम्भीर चेतावनी दिएको छ। इरानी अधिकारीहरूले यदि फेरि आक्रमण गरियो भने आफूहरू अझ सशक्त र ठुलो बलका साथ प्रतिकारमा उत्रिने स्पष्ट पारेका छन् ।

केही हप्तादेखि जारी युद्धविरामका कारण केही शान्त देखिएको यस क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमले पुनः द्वन्द्व चर्काउन सक्ने र यसले विश्व राजनीतिमै गम्भीर असर पार्ने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै