Logo

३ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

नेकपा एमालेद्वारा काठमाडौँको बल्खुमा आयोजित ३३औँ मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखी वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो । भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

मदनपत्नी समेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले जननेताद्वयले देख्नुभएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै राजनीतिलाई जनसेवा र समाज रूपान्तरणको मुख्य अभियान बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठुलो आधार हो, त्यसैले पार्टी र जनताबीचको दूरी बढ्न नदिन नेताहरूले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने आवश्यकता छ । जनतासँगको सम्बन्ध कमजोर भएमा राजनीतिक आन्दोलनको मर्म नै समाप्त हुने उहाँको चेतावनी थियो ।

सम्बोधनका क्रममा भण्डारीले राजनीतिक शक्तिहरूलाई सत्ता केन्द्रित मात्र नभई जनमुखी हुन आग्रह गर्दै विचार र सिद्धान्तप्रति अविचलित भएर लाग्न प्रेरणा दिनुभयो । मदन–आश्रितको योगदानको स्मरण गर्दै उहाँले देशको समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेकाले एमालेका कार्यकर्ताहरूले नयाँ जोसका साथ समाज रूपान्तरणमा क्रियाशील हुनुपर्ने बताउनुभयो ।

३३ वर्षअघि आजकै दिन दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो, जसको सम्झनामा आज देशैभर विभिन्न कार्यक्रम गरी उनीहरूलाई सम्झिइँदै छ ।


सम्बन्धित समाचार