Logo

४ जेठ, काठमाडौँ । काभ्रेको बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरमा सोमबार बिहान एउटा फरक दृश्य देखियो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा १५ जनाको संसदीय टोली निरीक्षणका लागि त्यहाँ पुग्दा स्थायी ठाउँ नपाएर छटपटिएका सुकुमबासीहरूका आँसु थामिएनन् । वर्षौँदेखिको पीडा, अभाव र राज्यबाट उपेक्षित हुनुको आक्रोश उनीहरूका आँखाबाट आँसु बनेर बगेको थियो ।

टोलीलाई आफ्नो अगाडि देख्नेबित्तिकै पीडितहरूले रुँदै आफ्ना दुःखका पहाडहरू सुनाउन थाले । ‘हाम्रा बालबच्चाको पढाई बर्बाद भइसक्यो, बिरामी हुँदा ओखतीमूलो गर्ने पैसा छैन’ टोलीसामु आँसु पुछ्दै एक स्थानीयले भने, ‘हामीलाई कहिलेसम्म यसरी शिविरमा राख्ने ?

सरकारले हाम्रो स्थायी बसोबासको व्यवस्था कहिले गर्छ? दीर्घरोगीहरूले उपचार नपाएको र पालमुनिको बासले जीवन कष्टकर बनेको भन्दै उनीहरूले संसदीय टोलीको हात समातेर छिटो उद्धार गर्न गुहार मागे । सुकुमबासीहरूको यो रोदन र पीडाले निरीक्षणमा पुगेको टोलीलाई समेत स्तब्ध बनाएको थियो ।

पीडितहरूको आँसु र मागलाई टिपोट गर्दै समितिका सभापति हरि ढकालले यसपटक सरकारले उनीहरूको समस्या छिटो समाधान गर्ने वाचा गरे । उनले बालबच्चाको शिक्षा र दीर्घरोगीहरूको स्वास्थ्य उपचारको उचित व्यवस्था तत्कालै मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सुकुमबासीहरूलाई धैर्य गर्न आग्रह गरे ।

आश्वासनको पोको त उनीहरूले धेरैपटक पाए, तर यसपटक संसदीय समितिकै टोलीले आँसु पुछ्ने आश्वासन दिएपछि पीडितहरूमा भत्किएको आशा फेरि पलाएको छ ।


सम्बन्धित समाचार