४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुर्किँदै गएको गुटबन्दी अन्त्य गरी सङ्गठन सुदृढीकरणमा लाग्नुको विकल्प नभएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित कांग्रेसको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले अबको मुख्य रणनीति नै पार्टीभित्रका गुटहरू भत्काउने र समग्र पार्टीलाई बलियो बनाउने तर्फ केन्द्रित हुने उद्घोष गरे । उनले पार्टीलाई जगैदेखि बलियो बनाउनका लागि तल्लो तहबाटै क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको आन्तरिक सदस्यता व्यवस्थापन र नेतृत्वप्रतिको संशयलाई चिर्दै उपसभापति शर्माले महामन्त्री गगन थापालाई विश्वास नगरे पनि आ–आफ्नो वडाका सभापतिहरूलाई भने संकोचबिना विश्वास गर्न कार्यकर्ताहरूलाई आग्रह गरे । ‘तपाईँहरू महामन्त्री गगन थापालाई विश्वास नगर्नुस्, ठिकै छ । तर आफ्नै वडाका पार्टी सभापतिलाई त विश्वास गर्नुस्,ू शर्माले भने, ‘क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम केन्द्रबाट गगन थापाले गर्ने होइन, गाउँ–गाउँ र वडा–वडामा त्यहीँका निर्वाचित वडा सभापतिहरूले गर्ने हो ’ १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले नै यो जिम्मेवारी सम्हालिरहेकाले उनीहरूको नियतमाथि शङ्का नगर्न उनले स्पष्ट पारे ।
भेलाकै क्रममा उपसभापति शर्माले पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको एक विवादास्पद अभिव्यक्तिको समेत कडा जवाफ दिएका छन् । नेता खड्काले केही समयअघि कांग्रेस विभाजनको सङ्घार (डिल) मा पुगेको भनी दिएको अभिव्यक्तिलाई खण्डन गर्दै शर्माले पार्टी फुटको दिशामा नभई थप मजबुत र एकीकृत हुने बाटोमा अघि बढेको जिकिर गरे ।
‘विशेष महाधिवेशनमा सहभागी भएकाहरूलाई मात्रै जिम्मेवारी बाँडियो भने त्यसले विभाजनलाई बल पुर्याउँछ । तर हामी त्यसो गर्दैनौँ, विशेषमा सहभागी नभएका साथीहरूलाई पनि क्रमशः समेट्दै जिम्मेवारी दिने प्रक्रिया सुरु भइसकेको छ र बाँकीलाई पनि समेटिनेछ,’ शर्माले थपे, ‘यो नै गुट भत्काएर सिङ्गो पार्टी बनाउने उत्तम बाटो हो ।’


















