Logo

४ जेठ,काठमाडौं ।  नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार बैठकले हाल भण्डारीको सदस्यता सम्बन्धी निर्णय मात्रै गरेको छ भने अन्य विषयमा छलफल भए पनि निर्णय हुन बाँकी रहेको छ। सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने तय गरिएको उनले बताए।

गत वर्ष साउनको पहिलो साता एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। एघारौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै पार्टी नेतृत्वमा सक्रिय हुने संकेत देखिएपछि अध्यक्ष ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए। उक्त निर्णयमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूको समर्थन रहेको बताइएको थियो।

आइतबार मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो। त्यसपछि एमालेभित्र उनको राजनीतिक सक्रियता पुनः चर्चामा आएको थियो।

यसअघि एमाले नेतृत्वले पूर्वराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगेको व्यक्ति सबैको साझा हुने भएकाले सक्रिय पार्टी राजनीतिमा फर्कन नमिल्ने तर्क गर्दै आएको थियो। गणतान्त्रिक व्यवस्थामा नयाँ राजनीतिक मानक स्थापित गर्नुपर्ने धारणा पनि नेताहरूले सार्वजनिक रूपमा राखेका थिए।

तर पार्टीले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफू निकट नेताहरूलाई संगठित गर्दै समानान्तर गतिविधि अघि बढाउँदै आएकी थिइन्। गत महाधिवेशनमा उनको समर्थनमा ईश्वर पोखरेल अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका थिए।


सम्बन्धित समाचार