Logo

५ जेठ, काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चल्दा तीन जनाको दुःखद मृत्यु भएको छ । सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो धार्मिक स्थल मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा यो बीभत्स घटना भएको हो । आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीको खोजी सूचीमा रहेका दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको एक कारभित्र मृत फेला परेका छन् ।

सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार प्राथमिक प्रमाण र घटनास्थलको प्रकृति हेर्दा यो आक्रमण नियोजित र मुस्लिम समुदायलक्षित ‘घृणाजन्य अपराध’ (हेट क्राइम) भएको देखिन्छ । सोही कोणबाट सङ्घीय अनुसन्धान एजेन्सीहरूको सहयोगमा अनुसन्धानलाई सघन बनाइएको छ ।

यो भयानक घटनाको पृष्ठभूमि एक आमाले प्रहरीमा दिएको उजुरीबाट सुरु भएको थियो । मस्जिदमा गोली चल्नुअघि नै ती महिलाले आफ्नो छोरा अचानक हराएको र घरमा राखिएका केही घातक स्वचालित हतियार तथा पारिवारिक कारसमेत बेपत्ता भएको भन्दै प्रहरीमा आकस्मिक रिपोर्ट गरेकी थिइन् । प्रहरीले उक्त सूचनाका आधारमा खोजी सुरु गर्न नपाउँदै इस्लामिक सेन्टरमा गोली चलेको खबर आएको थियो ।

हतियारधारी किशोरहरूले मस्जिदमा प्रवेश गरी प्रार्थना गरिरहेका निर्दोष मानिसहरूमाथि घातक हतियारबाट अन्धाधुन्ध फायरिङ सुरु गरेका थिए । सोही क्रममा मस्जिदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले आफ्नो ज्यानको बाजी थापेर आक्रमणकारीमाथि साहसिक प्रतिकार गरेका थिए । प्रतिकारकै क्रममा ती सुरक्षाकर्मीले वीरगति प्राप्त गरे पनि उनको तत्कालको कदम र बहादुरीका कारण मस्जिदभित्र रहेका अन्य सयौँ प्रार्थनाकर्ताहरूको ज्यान जोगिन सफल भएको प्रहरी प्रमुख वाह्लले बताए ।

मस्जिदमा रगतको होली खेलेर द्रुत गतिमा कार कुदाउँदै फरार भएका ती दुई किशोर संदिग्धहरू धेरै टाढा भने पुग्न सकेनन् । नाकाबन्दी गरेर प्रहरीले पिछा गरिरहेकै अवस्थामा नजिकैको सडकमा गुडिरहेको सोही शङ्कास्पद कारभित्र दुवै जना मृत अवस्थामा फेला परेका थिए । प्रहरी घेरामा पर्ने निश्चित भएपछि उनीहरूले गुडिरहेकै कारभित्र आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

अमेरिकामा पछिल्लो समय धार्मिक अल्पसङ्ख्यक र आप्रवासीहरूलाई निसाना बनाएर हुने यस्ता बन्दुक हिंसा र नश्लीय आक्रमणका घटनाहरू पुनः बढेर गएपछि स्थानीय मुस्लिम समुदायमा गम्भीर त्रास र आक्रोश पैदा भएको छ ।


सम्बन्धित समाचार
भर्खरै