५ जेठ,वीरगञ्ज । पोखरिया नगरपालिका ले आर्थिक वर्ष २०८०/८१ मा औषधि तथा सर्किजल सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण पालना नगरेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालय ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नगरपालिकाले खरिद प्रक्रिया व्यवस्थित नगरी लाखौँ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको हो।
प्रतिवेदनअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) अनुसार २० लाख रुपैयाँसम्मको औषधिजन्य सामग्री उत्पादकसँग सोझै खरिद गर्न सकिने व्यवस्था भए पनि नगरपालिकाले विभिन्न कोटेसनमार्फत औषधि खरिद गरी भुक्तानी दिएको उल्लेख छ।
महालेखाले औषधि खरिदका क्रममा आवश्यक वार्षिक खरिद योजना तयार नगरिएको, आपूर्ति हुने औषधि तथा औषधिजन्य सामग्रीको सम्पूर्ण विवरण खुलाइएको सूचना नराखिएको तथा औषधिको प्रयोग र मौज्दातको एकीकृत अभिलेखसमेत व्यवस्थित नराखिएको जनाएको छ।
प्रतिवेदनमा आपूर्ति गरिएका औषधि तथा सामग्री स्टोर दाखिला गर्नु अघि स्पेसिफिकेसनअनुसार भए/नभएको परीक्षणसमेत नगरिएको उल्लेख गरिएको छ। महालेखाले औषधि खरिद, उपयोग तथा मौज्दात व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन नगरपालिकालाई सुझाव दिएको छ।
प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न फर्ममार्फत औषधि तथा सर्किजल सामग्री खरिद गर्दा कुल ३५ लाख ७ हजार ४ सय ६९ रुपैयाँ भुक्तानी गरेको देखिएको छ।
भुक्तानी पाउने फर्महरूमा डायनामिक सर्किजल हब लाई सर्किजल सामग्रीबापत ५ लाख ११ हजार ७०० रुपैयाँ, पशुपतिनाथ आयुर्वेद भवन प्रालि लाई आयुर्वेद औषधिबापत ७ लाख ९१ हजार ५७० रुपैयाँ, शिव मेडि कन्सर्न लाई औषधि खरिदबापत १९ लाख ५६ हजार ३०५ रुपैयाँ तथा इलाइट मेडिहेल्थ कन्सर्न प्रालि लाई औषधि खरिदबापत १ लाख ४८ हजार ८९४ रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ।
महालेखापरीक्षकको कार्यालयले औषधि खरिद प्रक्रिया पारदर्शी, प्रतिस्पर्धी र नियमसम्मत बनाउन आवश्यक सुधार गर्न नगरपालिकालाई सुझाव दिएको छ।



















