Logo

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष र आगामी महाधिवेशनको सरगर्मी बढ्दै जाँदा संस्थापन इतरसमूहले आफ्नो रणनीतिक उपस्थिति बलियो बनाउन सुरु गरेको छ ।

१५ औँ महाधिवेशनलाई लक्षित गर्दै यो समूहले काठमाडौंको अनामनगरमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको हो । पार्टीभित्र एकताको दबाब सिर्जना गर्ने र महाधिवेशनको पूर्वतयारीलाई तीव्रता दिने उद्देश्यका साथ खोलिएको यो कार्यालयले कांग्रेसको आगामी राजनीतिक दिशालाई लिएर नयाँ बहस छेडिदिएको छ।

विशेष गरी नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीको सक्रियतामा यो कार्यालय सञ्चालनमा आएको हो । पार्टीभित्रै अर्को शक्ति केन्द्र खडा गर्न खोजिएको भन्दै टीकाटिप्पणी भइरहँदा समूहका नेताहरूले भने यसलाई नयाँ पार्टी निर्माण नभई पार्टी सुदृढीकरणको अभियानका रूपमा अर्थ्याएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन वैशाखदेखि नै गृहकार्य सुरु गरिएको र सोहीअनुसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभएको छ ।

अनामनगरस्थित उक्त कार्यालयमा कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेरदेखि पूर्वसभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्बिर लहरै सजाइएको छ । यद्यपि, संस्थापन पक्ष बाहिरका प्रभावशाली युवा र अनुभवी नेताहरूको बाक्लो उपस्थितिले यो कार्यालयलाई आगामी महाधिवेशनको कमाण्ड पोस्टका रूपमा हेरिएको छ । नेता गुरु बरालका अनुसार पार्टीभित्रका विसंगतिविरुद्ध दबाब दिन र बृहत्तर एकताका लागि यो साझा थलोका रूपमा प्रयोग हुनेछ ।


सम्बन्धित समाचार