Logo

५ जेठ, काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता उत्साहजनक देखिए पनि लगानीकर्ताहरूले लैजाने लाभांश र रोयल्टीको हिस्सा झन् ठूलो हुँदै गएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को १० महिनाको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । तर, यही अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालबाट १७ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ लाभांश (नाफा) बापत फिर्ता लगेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ९ अर्बले बढी हो ।

विभागका अनुसार वैशाख महिनामा मात्रै ३ अर्ब ५२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। १० महिनाको कुल प्रतिबद्धतामध्ये स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ५ अर्ब ७६ करोड र विभागको प्रमाणीकरण मार्गबाट ३९ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी सुनिश्चित भएको छ। यस अवधिमा ७११ साना, ८ मध्यम र ९ ठूला उद्योगमा लगानी गर्ने रुचि विदेशीहरूले देखाएका छन् ।

विशेष गरी कृषि क्षेत्रमा २२ अर्ब, पर्यटनमा १२ अर्ब ५४ करोड र सेवा क्षेत्रमा ४ अर्ब २३ करोड रुपैयाँको प्रतिबद्धता आएको छ भने सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै ४२१ वटा उद्योग दर्ता भएका छन् ।

लगानीको प्रतिबद्धता बढे पनि नेपालमा बसेर काम गर्ने विदेशी लगानीकर्ताहरूको संख्यामा भने गिरावट आएको छ । गत वर्ष १० महिनामा २ हजार ६ सयभन्दा बढीले बिजनेस भिसा लिएकोमा यस वर्ष त्यो संख्या खुम्चिएर १ हजार ६ सय ८० मा सीमित भएको छ ।

लगानीकर्ताका परिवार र प्रतिनिधिहरूले लिने भिसा सिफारिसमा पनि उल्लेख्य कमी आएको तथ्याङ्कले देखाउँछ । यसले प्रतिबद्धता जनाइए पनि वास्तविक रूपमा लगानीकर्ताहरू नेपालमा टिकिरहने वातावरणमा केही चुनौती रहेको संकेत गर्दछ ।

पूँजी बाहिरिने क्रममा लाभांश मात्र नभई रोयल्टीको हिस्सा पनि उत्तिकै ठूलो छ । १० महिनाको अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीबापत नेपाली रुपैयाँ ५ अर्ब ९ करोडका साथै ठूलो मात्रामा अमेरिकी डलर र भारतीय रुपैयाँ समेत लगेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष लाभांश र रोयल्टी लैजाने दरमा भएको बढोत्तरीले नेपालको विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनमा चाप पर्न सक्ने विश्लेषण गरिएको छ। लगानी भित्र्याउने मात्र नभई भित्रिएको लगानीलाई उत्पादनशील क्षेत्रमा टिकाउनु पर्ने चुनौती थपिएको छ ।


सम्बन्धित समाचार
भर्खरै