५ जेठ, काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने तयारीमा रहेका प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायालयभित्र कुनै पनि प्रकारको गुटबन्दी नरहेको स्पष्ट पारेका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सर्वोच्चमा न्यायाधीशहरूबीच समूहवाद रहेको भन्ने चर्चालाई पूर्ण रूपमा अस्वीकार गरेका हुन् । उनले अदालत एउटा अविच्छिन्न र एकढिक्का संस्था भएको जिकिर गर्दै बाहिर चर्चा भएजस्तो आन्तरिक विभाजन नरहेको दाबी गरे ।
सुनुवाइका क्रममा उनीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ताको विषयमा भएको विवादबारे पनि प्रश्न उठाइएको थियो । सो प्रश्नको खण्डन गर्दै डा. शर्माले बार र बेन्च (वकिल र न्यायाधीश) बीच कुनै द्वन्द्व नभएको स्पष्ट पारे। ूबार र बेन्चबीच कुनै समस्या छैन, केवल बार र प्रशासनबीच केही प्राविधिक विषयमा असमझदारी भएको हो कि जस्तो देखिन्छ,’ उनले भने ।
उनले आफ्नो तर्फबाट उठेका सबै कानुनी र नैतिक प्रश्नहरूको जवाफ दिइसकेको भन्दै न्यायालयको गरिमा उच्च राख्न आफू प्रतिबद्ध रहेको बताए ।
डा. शर्माले अदालतमा विचाराधीन मुद्दाहरू र प्रशासनिक प्रक्रियाका विषयमा बारले उठाएका चासोहरूलाई स्वाभाविक रूपमा लिँदै त्यसलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिने धारणा राखे ।
उनले न्यायालयको सुधारका लागि आफूले ठोस योजना बनाएको र सोहीअनुरूप अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सुनुवाइ समितिले उनीविरुद्ध परेका उजुरी र कार्यक्षमताका विषयमा सोधेका अन्य प्रश्नहरूमा पनि उनले प्रष्ट पार्ने प्रयास गरेका थिए ।


















