५ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले शैक्षिक परामर्शदाता कम्पनी तथा कन्सल्टेन्सीहरू विरुद्ध व्यापक कारबाही थालेको छ। प्रहरीले जेठ १ गते उपत्यकाका १९५ वटा कन्सल्टेन्सी तथा शैक्षिक परामर्शदाता कार्यालयमा छापा मारेर ६८ जना सञ्चालक र म्यानेजरलाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये २७ जना सञ्चालकविरुद्ध शिक्षा ऐन अन्तर्गत अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन्।
प्रहरीका अनुसार ती कन्सल्टेन्सीहरूले आवश्यक दर्ता प्रक्रिया पूरा नगरी विदेशमा विद्यार्थी पठाउने काम गर्दै आएका थिए। उनीहरूले पठाएका केही विद्यार्थी विदेश पुगेपछि अलपत्र परेको गुनासोसमेत आएको छ। विशेषगरी जापान पुगेका विद्यार्थीहरू समस्यामा परेको उजुरी आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले यस सम्बन्धमा थप उजुरी संकलन गरिरहेको जनाएको छ।
अदालतमा उपस्थित गराइएका पाँच जना म्यानेजरलाई भने हिरासतमा राख्न अदालतले अनुमति दिएको छैन। सञ्चालक अनुपस्थित रहेका कम्पनीका ती म्यानेजरलाई थुनामा नराख्न आदेश भएको प्रहरीले जनाएको छ।
प्रहरीले कन्सल्टेन्सी सञ्चालकहरूमाथि ठगी र किर्ते मुद्दामा समेत अनुसन्धान अघि बढाएको छ। दर्ता प्रक्रिया गरिरहेका ३६ जनालाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई थप कारबाहीका लागि शिक्षा विभागको शैक्षिक परामर्श शाखामा पठाउने तयारी गरिएको छ।
अनुसन्धानका क्रममा केही कन्सल्टेन्सीहरूले “भिसा ग्यारेन्टी” दिने भन्दै सेवाग्राहीलाई भ्रममा पार्ने, पासपोर्ट आफैँसँग राख्ने तथा विभिन्न बहानामा दुःख दिने गरेको खुलेको प्रहरीले जनाएको छ। एसपी कार्कीका अनुसार दूतावासबाट जारी हुने भिसाको ग्यारेन्टी कुनै पनि कन्सल्टेन्सीले गर्न नमिल्ने कानुनी व्यवस्था छ।


















