६ जेठ,वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद पन्तले वीरगञ्जस्थित हरिखेतान सामुदायिक क्याम्पसमा पछिल्ला दिनमा देखिएको आन्तरिक विवाद, झडप र अशान्त अवस्थाबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले करिब २०३८ सालमा स्थापना भई हाल करिब चार हजार विद्यार्थी तथा १५० भन्दा बढी प्राध्यापक र कर्मचारी कार्यरत रहेको उक्त क्याम्पसमा लगातार देखिएको तनावले शैक्षिक वातावरण गम्भीर रूपमा प्रभावित भएको बताएका हुन्।
उनका अनुसार लामो समयदेखि शैक्षिक केन्द्रका रूपमा परिचित क्याम्पसमा पछिल्ला दिनहरूमा निरन्तर प्रदर्शन र झडप हुन थालेपछि नियमित पठनपाठन प्रभावित हुँदै आएको छ।
स्थानीय सरोकारवालाहरूले क्याम्पस गोठी संस्थानको जग्गामा निर्माण भएको र निर्माण चरणमा सहयोग गर्ने दातासँग सम्बन्धित केही व्यक्तिहरूले क्याम्पसको मूल विधानमा पटक–पटक संशोधन गरेको भन्दै विवाद बढ्दै गएको बताएका छन्। यसले क्याम्पस व्यवस्थापन निजीकरणतर्फ उन्मुख भएको आशंका समेत उठिरहेको छ।
हालै भएको झडपका क्रममा क्याम्पस प्रमुखमाथि दुर्व्यवहार भएको, केही कर्मचारीहरू प्रहरी हिरासतमा रहेको तथा केहीलाई सेवाबाट हटाइएको विवरण पनि सार्वजनिक भएको छ। घटनापछि क्याम्पसको शैक्षिक वातावरण थप असहज बनेको छ।
सांसद पन्तले तत्काल निष्पक्ष छानबिन समिति गठन गरी क्याम्पसको विधान, प्रशासनिक संरचना र देखिएका विवाद समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। उनले सामुदायिक क्याम्पसको मूल मर्मअनुसार पठनपाठन पुनः नियमित गर्नुपर्नेमा जोड दिएका छन्।
क्याम्पसमा उत्पन्न तनावका कारण हजारौं विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै सरोकारवालाहरूले समेत तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


















