Logo

१७ वैशाख, वीरगञ्ज । करोडौँ रकम लिएर फरार भएको डेढ महिना भयो, तर भेटिएनन् यादगार सहकारीका अध्यक्ष करोडौँ रकम लिएर विगत डेढ महिनादेखि फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा क्रृण सहकारी सस्थांका सञ्चालक अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

वीरगञ्ज महानगर–१७ रामगढवास्थित सञ्चालित सो बचतका अध्यक्ष तथा कोषाध्यक्ष बचतकर्ताको १० करोड रुपैँया भन्दा रकम लिएर फरार भएदेखि हालसम्म पक्राउ पर्न नसकेका हुन् । सहकारीमा रामगढवा,रानीघाट, अशोकवाटिका, श्रीपुर लगायतका बासिन्दाहरुले रकम बचत गर्दै आएका थिए । आफूले भविष्यको लागि बचत गरेको मेहेनतको कमाई नै सहकारीका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहले लिएर फरार हुदाँ बचतकर्ता चिन्तित भएका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरूले न्याय नपाएको उनीहरुको गुनसो छ ।

यस विषयमा महानगर र जिल्ला प्रहरी कार्यालय पर्सामा ०७९ साल चैत्र ८ गते नै जाहेरी दिएको रानीघाटका कुन्दनकुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार हालसम्म सहकारी सस्थांका कुनै पदाधिकारी तथा कर्मचारी पक्राउ परेका छैनन् जसका कारण अब पैसा फिर्ता आउने कुनै सुनिश्चितता नै छैन । उजुरी लिएर पर्सा प्रहरीको पुग्दा महानगरमा जान भन्ने र महानगरमा जाँदा प्रहरीमा उजुरी दिन भन्ने जस्ता कुराहरु मात्र सुन्ने गरेको उहाँहरुको गुनासो छ । मेहेनत गरेर जम्मा गरेको पैसा नै डुब्दा न त खान मन लाग्ने न त कसैसँग बोल्न नै मन लाग्ने प्रियान्सुकुमार गुप्ताको भनाई छ ।

सहकारीमा रु २० लाख बचत गरेको उहाँको भनाई छ । यता सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरूमा समेत अन्योलता बढेको वीरगञ्ज महानगरका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिनुभयो । उहाँले फरार भएकालाई खोजी गर्न आफूहरुसँग प्रहरी र खोजीको उपाय नै नभएकाले पीडितको निवेदनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै फरार सञ्चालकको खोजी जारी रहेको बताउनुभयो ।

पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भईरहेको जानकारी दिनुहुँदै डिएसपी गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने आश्वासन दिनुभएको छ ।


सम्बन्धित समाचार