६ जेठ,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी चीनले चासो व्यक्त गरेको जानकारी दिएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खनालले चीनसँग निरन्तर संवाद र सम्पर्क भइरहेको बताए। उनले उत्तरी छिमेकी चीनले नयाँ सरकार बनेपछि नेपालका प्राथमिकता के–के हुने भन्ने विषयमा विशेष चासो देखाएको उल्लेख गरे।
“उत्तरी छिमेकीसँग निरन्तर सम्पर्क र संवादमा हामी छौं,” मन्त्री खनालले भने, “हाम्रो प्राथमिकताका विषयमा उहाँहरूले चासो राख्नुभएको छ। नयाँ सरकार बनेपछि कस्ता विषय प्राथमिकतामा पर्छन् भन्ने विषयमा उहाँहरूको चासो बढी छ। त्यसबारे हामी निरन्तर सम्पर्कमै छौं।”
उनका अनुसार सरकार नेपाललाई स्थिर, बलियो र गतिशील राष्ट्रका रूपमा अघि बढाउने लक्ष्यसहित काम गरिरहेको छ।
मन्त्री खनालले भूराजनीतिक जटिलताबीच पनि परराष्ट्र मन्त्रालय अन्तर्राष्ट्रिय सम्बन्धदेखि संयुक्त राष्ट्रसंघमा नेपालको उपस्थितिसम्मका विषयमा सक्रिय रूपमा काम गरिरहेको बताए।


















