Logo

 ६ जेठ,काठमाडौं ।  हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबिच विवाद चर्किँदा झडप भएको छ। वैशाख ३ गते भएको झडपमा बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटा निवासी ५ जना घाइते भएका छन्।

घाइतेहरूलाई गुम्बा क्षेत्रबाट बोकेर तल ल्याइँदै गरिएको र त्यसपछि हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। उनका अनुसार घाइतेलाई उद्धारका लागि हेलिकप्टर पठाउन समन्वय भइरहेको छ।

हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा पर्ने बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको हो। चौकी निर्माणको क्रममा हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि संरचना बनाउन खोजिएको भन्दै अवरोध गरेका थिए।

हुम्ला प्रहरीले कवारीखोलालाई दुई जिल्लाबीचको सिमाना दाबी गरिएको स्थानका रूपमा स्थानीयले व्याख्या गरेको जनाएको छ। विवादपछि बाजुरातर्फ चौकी निर्माणको काम रोकिएपछि अहिले अवस्था सामान्य रहेको हुम्ला प्रहरीको भनाइ छ।

घटनापछि गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले चौकी निर्माणको काम तत्कालका लागि रोक्न निर्देशन दिएका छन्। यसैबीच, बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले सीमा विवादको विषय माथिल्लो तहमा छलफलमार्फत समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।

घटनापछि लाम्पाटा क्षेत्रका स्थानीयहरू असुरक्षाको कारण घर छाड्नुपर्ने अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन्।


सम्बन्धित समाचार
भर्खरै