Logo

६ जेठ,काठमाडौं । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको वैदेशिक सैन्य नीतिविरुद्ध एक ऐतिहासिक कदम चाल्दै इरानमा जारी युद्ध समाप्त गर्ने प्रस्ताव (वर पावर्स रेजोलुसन) बहुमतले पारित गरेको छ।

मंगलबार भएको मतदानमा केही प्रमुख रिपब्लिकन सांसदहरू अनुपस्थित रहे भने अर्को एउटा समूहले आफ्नै पार्टीका राष्ट्रपतिको विपक्षमा विद्रोह गरेपछि प्रस्ताव ५०–४७ मतले पारित भएको हो।

यो मतदान प्रक्रियागत भए पनि र यसलाई कानुनको रूप लिन अझै कठिन चुनौती बाँकी रहे पनि, यसले अमेरिकी संसद (कंग्रेस) मा युद्धप्रतिको समर्थन घट्दै गएको बलियो संकेत दिएको छ।

रिपब्लिकनभित्र तीव्र असन्तोष र ट्रम्पसँगको टकराव

आगामी नोभेम्बरमा हुने मिडटर्म (मध्यावधि) निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो ग्याँसको मूल्य, उच्च मुद्रास्फीति र ट्रम्पको घट्दो लोकप्रियता रिपब्लिकन सांसदहरूका लागि ठूलो राजनीतिक बोझ बनिरहेको छ। यसैबीच, ह्वाइट हाउस र सिनेटका रिपब्लिकनहरूबीचको आन्तरिक तनाव पनि यो मतदानले छताछुल्ल पारेको छ।

विशेष गरी ट्रम्पले पार्टीभित्रका पुराना सिनेटरहरूलाई हटाउन चलाएको अभियानकै बीच यो विद्रोह भएको होः
बिल क्यासिडी (लुजियाना) : ट्रम्पको कडा विरोधका कारण केही दिनअघि मात्र प्राइमरी निर्वाचन हारेका यी रिपब्लिकन सिनेटरले यस पटक प्रस्तावको पक्षमा मतदान गरे, जबकि यसअघि उनी यसको विपक्षमा थिए।

अनुपस्थित सिनेटरहरूः ट्रम्पको निसानामा पर्दै आएका नर्थ क्यारोलिनाका निवर्तमान सिनेटर थोम टिलिस, मंगलबार मात्रै ट्रम्पको समर्थन गुमाएका टेक्सासका जोन कोर्निन र अलाबामाका टोमी टुबर्भिल मतदानमा सहभागी भएनन्।

विद्रोही समूहः अलास्काकी लिसा मुर्कोस्की, मेनकी सुसान कोलिन्स र केन्टकीका र्यान्ड पल जस्ता प्रभावशाली रिपब्लिकन सिनेटरहरूले पार्टी लाइनविपरीत डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरे।

’६० दिने’ कानुनी सीमा नाघेपछि डेमोक्र्याटको दबाब
इरान युद्ध रोक्ने अभियानको नेतृत्व गरिरहेका डेमोक्र्याट सिनेटर टिम केनले ट्रम्प प्रशासनले विदेशमा सैन्य कारबाही गर्ने ६० दिने कानुनी समयसीमा ’धेरै अगाडि’ नै नाघिसकेको बताए। “प्रशासनले हामीलाई युद्धको कानुनी आधार देखाउन समेत तयार छैन, यो एउटा खतराको संकेत (फ्ल्यासिङ रेड लाइट) हो,“ केनले भने।

राष्ट्रपति ट्रम्पले गत मे १ मा सांसदहरूलाई पत्र लेख्दै इरानविरुद्धको शत्रुतापूर्ण कारबाही ’समाप्त’ भइसकेको दाबी गरेका थिए। तर, मे १३ को सिनेट सुनुवाइमा सिनेटर मुर्कोस्कीले पेन्टागन प्रमुख पिट हेगसेथलाई प्रश्न गर्दै भनिन्, “राष्ट्रपतिले युद्ध सकियो भने पनि हाम्रा १५,००० सैनिक, २० भन्दा बढी युद्धपोत र सक्रिय नौसैनिक नाकाबन्दी अझै जारी छ। यस्तो अवस्थामा शत्रुता समाप्त भएको कसरी मान्ने?“

अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने वा सेना पठाउने अन्तिम अधिकार राष्ट्रपतिमा नभई संसद् (कंग्रेस) मा हुनुपर्छ भन्ने डेमोक्र्याटहरूको लामो समयदेखिको तर्कलाई यो प्रस्तावले बल पु¥याएको छ।

अमेरिकी कानुन के भन्छ?
अमेरिकी कानुनअनुसार राष्ट्रपतिले संसद्को अनुमतिविना अधिकतम ६० दिनसम्म मात्र सैन्य कारबाही गर्न पाउँछन्। त्यसपछि कि त युद्ध रोक्नुपर्छ, कि कंग्रेसबाट अनुमति लिनुपर्छ, वा थप ३० दिनको समय माग गर्नुपर्छ।

प्रस्तावका प्रस्तावक सिनेटर टिम केनका अनुसार ट्रम्पले अब संसद्को अगाडि आएर आफ्नो स्पष्ट रणनीति राख्नुपर्नेछ।

अगाडिको बाटो कति कठिन?
सिनेटबाट प्रक्रियागत रूपमा अगाडि बढेको यो प्रस्तावले अझै लामो कानुनी यात्रा तय गर्न बाँकी छः

सिनेटको अन्तिम मतदानः प्रस्तावले पहिले सिनेटमा अन्तिम चरणको मतदान पार गर्नुपर्नेछ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सः त्यसपछि यो रिपब्लिकनहरूको बहुमत रहेको तल्लो सदन (हाउस) मा पठाउनेछ, जहाँ यसलाई पारित गराउन डेमोक्र्याटहरूलाई कठिन हुनेछ।

राष्ट्रपति भिटोको डरः यदि दुवै सदनबाट पारित भए पनि राष्ट्रपति ट्रम्पले यसलाई ’भिटो’ (विशेष अधिकार प्रयोग गरी खारेज) गरिदिने सम्भावना उच्च छ। ट्रम्पको भिटोलाई निष्कृय पार्न दुवै सदनमा दुई–तिहाइ बहुमत आवश्यक पर्छ, जुन वर्तमान राजनीतिक समीकरणमा झन्डै असम्भव जस्तै देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै