६ जेठ,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्किन आह्वान गरेका छन्।
बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा नयाँ राजनीतिक परिस्थिति विकास भइरहेको उल्लेख गर्दै अब बाहिर बसिरहनुपर्ने अवस्था नरहेको बताए।
अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको दाबी गर्दै सबै मिलेर देशको विकासमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई पनि जिम्मेवार बन्न आग्रह गरे।
“अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नै भूमिमा फर्किनुहोस्, हामी स्वागत गर्छौं,” उनले भने, “हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ।”
ठाकुरले राजनीति जनताको सेवा केन्द्रित हुनुपर्ने भन्दै नैतिकता र जवाफदेहितामा आधारित अभ्यास आवश्यक रहेको पनि बताए।