Logo

६ जेठ,काठमाडौं ।  भारतले नेपाली चिया निर्यातमा लगाएको अवरोध तत्कालका लागि हटेको छ। भारतीय टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी)’ संशोधन गरेपछि नेपाली चिया निर्यात पुनः सहज हुने भएको हो।

मंगलबार भारतीय टी बोर्डले सूचना जारी गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी रूपमा छुट दिएको जनाएको छ। भारतको वाणिज्य मन्त्रालयको निर्देशनपछि गरिएको यो संशोधनले नेपालबाट हुने चिया निर्यातमा देखिएको अवरोध हटेको उद्योगीहरूको भनाइ छ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार नयाँ निर्णयसँगै अब चिया पहिलेझैँ सहज रूपमा भारत निर्यात गर्न सकिनेछ। “यस सूचनाले तत्कालको अवरोध हटाएको छ,” उनले बताए।

मे १ देखि लागू भएको नयाँ नियमका कारण प्रत्येक चिया कन्साइनमेन्टको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र ढिलासुस्तीका कारण नेपाली चिया निर्यात ठप्प भएको थियो। यसले उद्योगी, निर्यातकर्ता तथा किसानहरू प्रभावित बनेका थिए।

संशोधित व्यवस्थाअनुसार अब भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई अनिवार्य परीक्षण नगरीकन भित्र्याउन सकिने भए पनि ‘र्यान्डम’ परीक्षण भने जारी रहनेछ। साथै प्रयोगशाला रिपोर्ट पाँच दिनभित्र अपलोड गर्नुपर्ने व्यवस्था कायम गरिएको छ।

उद्योगीहरूका अनुसार नेपालबाट भारत जाने ठूलो हिस्सा चिया घरेलु बिक्रीकै लागि प्रयोग हुने भएकाले यो निर्णयले सीमामा हुने ढिलासुस्ती घटाउने र व्यापार लागत कम गर्ने अपेक्षा गरिएको छ।

यसअघि कडा नियम लागू भएपछि नेपाली चिया निर्यात पूर्ण रूपमा प्रभावित भएको थियो। प्रयोगशाला परीक्षण र ढुवानी प्रक्रियामा ढिलाइ हुँदा चिया गोदाममै थन्किनु परेको थियो।

नेपालमा करिब १२० चिया उद्योग, १०० भन्दा बढी साना उद्यमी सक्रिय छन् भने करिब ५० देखि ६० हजार मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस क्षेत्रमा आश्रित छन्। गत वर्ष मात्रै नेपालबाट करिब ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।


सम्बन्धित समाचार