Logo

६ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै प्रकारको गुटबन्दी नरहेको दाबी गरेका छन्।

बुधबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाभित्र विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू समाहित भए पनि सबैको उद्देश्य राष्ट्र निर्माण भएकाले गुट–उपगुटको सम्भावना नरहेको बताए।

आगामी महाधिवेशनको सन्दर्भमा बोल्दै पराजुलीले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनताले समेत नखोजेको दाबी गरे।

“राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन्,” उनले भने, “असार ७, ८ र ९ गते हुने महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारी टुंग्याउनेछ।”

उनले संसदको कामकारबाही र बजेट छलफल यसपटक विगतको तुलनामा छिटो सम्पन्न भएको उल्लेख गर्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। प्रतिपक्षका सुझावलाई समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उनको भनाइ छ।

सरकारले बजेट छलफललाई छिटो अघि बढाउनु “फास्ट ट्र्याक प्रक्रिया” भएको टिप्पणी गर्दै उनले यसलाई संसदलाई कमजोर बनाउने प्रयासका रूपमा बुझ्न नहुने बताए।

प्रधानमन्त्री संसदमा अनुपस्थित भएको विषयमा उनले प्रधानमन्त्री आफ्नो जिम्मेवारीअनुसार आवश्यक काममा सक्रिय रहेको दाबी गरे। साथै, सरकारको १०० दिने कार्ययोजनाअनुसार मन्त्रीहरू नतिजामुखी काममा केन्द्रित रहेको पनि उनले बताए।


सम्बन्धित समाचार
भर्खरै