Logo

६ जेठ,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लाई नेकपा एमाले ले पनि विश्वासको मत दिने भएको छ ।

यसअघि गत शुक्रबार विश्वासको मत लिने कार्यसूची तय गरिएको भए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपाल का सांसदहरूले फ्लोर क्रस गर्न सक्ने आशंकापछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रक्रिया रोकेका थिए । अब विश्वासको मत लिने नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।

यसअघि कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी तथा अन्य दलहरूबीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । तर जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि एकीकृत दलले विश्वासको मत दिने विषयमा अनिश्चितता देखाएको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत पाउने वा नपाउने अवस्था अन्योलपूर्ण बनेपछि केन्द्र तहमा नेपाली कांग्रेस र एमालेबीच संवाद भएको जनाइएको छ ।

कांग्रेस सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मा ले फरक–फरक समयमा एमाले अध्यक्ष केपी शर्मा ओली सँग सातै प्रदेशका सरकारबारे छलफल गरेका थिए ।

दुई दलबीच भएको प्रारम्भिक सहमतिअनुसार मधेस प्रदेशमा एमाले सांसदहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका हुन् ।

केन्द्रीय तहमा भएको समझदारीबारे मधेसका एक कांग्रेस नेताले भने, “मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।”

यस विषयमा कांग्रेस सभापति थापा र उपसभापति शर्माले बुधबार साँझ मधेसका नेता तथा सांसदहरूसँग थप छलफल गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले महोत्तरीको बर्दिबासमा सुरु गरेको दुईदिने प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन शीर्ष नेताहरू अहिले मधेसमै रहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै