Logo

 ६ जेठ,काठमाडौं । हर्क साम्पाङ ले सरकारलाई संसदप्रति जिम्मेवार बनाउन आफूहरूले निरन्तर दबाब दिइरहेको बताएका छन् । संसद बैठकमा पर्चा देखाएर गरिएको विरोध प्रदर्शन आगामी दिनमा पनि जारी रहने उनले स्पष्ट पारे ।

बुधबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टी का सांसदहरूले पर्चा प्रदर्शन गर्दै विरोध जनाएका थिए । त्यस क्रममा सभामुखले यस्तो गतिविधि दोहोर्‍याउन नहुने चेतावनी दिएका थिए ।

संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले भने, “जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।”

उनले सुकुमबासी समस्या, लिपुलेक, विदेशी ऋणलगायत विषयमा आफूहरूले बारम्बार प्रश्न उठाए पनि सम्बन्धित मन्त्रीहरूले जवाफ नदिएको गुनासो गरे ।

“हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल दुई–चार जना मन्त्री आउनुभयो,” उनले भने, “हामी प्रत्येक दिन प्रश्न गर्छौँ ।”

मन्त्री उपस्थित हुँदा पनि प्रश्न गर्न नदिइएको उनको आरोप छ । सभामुखले प्रश्न गर्न रोक लगाएपछि आफूहरूले विरोध जनाएको उनले बताए ।

निलम्बनको सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा साम्पाङले आफू त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए ।

“जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ,” उनले भने ।

सभामुखले सबै दलप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै साम्पाङले सभामुख कुनै एक दलको मात्र नभई सबैको साझा हुनुपर्ने बताए ।

“उहाँ श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुपर्छ,” उनले भने, “म संसदीय दलको नेता हुँ । मलाई नै दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ ? त्यो हुँदैन ।”

आफूहरूले संसदमा कुनै अमर्यादित वा अभद्र व्यवहार नगरेको दाबी गर्दै उनले पर्चा प्रदर्शनलाई लोकतान्त्रिक असहमतिको अभिव्यक्ति भएको बताए ।

“हामीले तोडफोड गरेका छैनौँ, अपशब्द बोलेका छैनौँ,” उनले भने, “पर्चा बोकेर जान पाइँदैन भनेर नियमावलीमा कहाँ लेखिएको छ ?”


सम्बन्धित समाचार