Logo

७ जेठ, परवानीपुर (बारा) । सार्वजनिक सरोकार र विकास निर्माणका कार्यमा पारदर्शिता खोज्दा बाराको परवानीपुर गाउँपालिकामा एक जनप्रतिनिधि आफैँ कुटपिट र दुर्व्यवहारमा उत्रिएका छन् । परवानीपुर गाउँपालिका–५ अन्तर्गत बहुवरी क्षेत्रमा भइरहेको सडक ढलान कार्यमा चरम अनियमितता भएको भन्दै प्रमाणका लागि भिडियो खिचिरहेका स्थानीय युवाहरूमाथि वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर प्रसाद साह कलवारले कार्यथलोमै हातपात गरेको आरोप लागेको छ ।

जनप्रतिनिधिले नै नागरिकमाथि भौतिक आक्रमण गरेपछि यो घटनाले अहिले जिल्लाभरि नै कानुनी र राजनीतिक बहसको रूप लिएको छ ।

स्थानीयवासीका अनुसार बहुवरी क्षेत्रमा निर्माणाधीन सडक ढलान कार्य तोकिएको प्राविधिक मापदण्ड मिचेर अत्यन्तै कमसल र गुणस्तरहीन ढङ्गले भइरहेको आशङ्का लामो समयदेखि गरिँदै आएको थियो । निर्माण सामग्री (बालुवा, सिमेन्ट र गिट्टी) को अनुपात नमिलेको र कमसल जगमा ढलान भइरहेको देखेपछि केही स्थानीय युवाहरूले त्यसको प्रमाण जुटाउन मोबाइलमार्फत भिडियो खिच्न थालेका थिए ।

त्यही क्रममा निर्माणस्थलमा आइपुगेका वडाध्यक्ष कलवारले भिडियो खिच्न रोक्दै युवाहरूसँग विवाद गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा आक्रोशित बनेका वडाध्यक्ष कलवारले युवाहरूको मोबाइल खोस्ने प्रयास गर्दै उनीहरूमाथि हातपात र गालीगलौज गरेका थिए । घटनालगत्तै आक्रोशित स्थानीयको भीड जम्मा भएपछि सो क्षेत्रमा केही समय स्थिति निकै तनावपूर्ण बनेको थियो ।

घटनाका पीडित एक स्थानीय युवाले आक्रोश पोख्दै भने, “सडकको गुणस्तर यति कमजोर थियो कि केही वर्षमै भत्किने निश्चित छ। हामीले नागरिकको दायित्व सम्झेर प्रमाणका लागि मात्र भिडियो खिचिरहेका थियौँ । तर, आफ्नो अनियमितता र कमिसनतन्त्रको पोल खुल्ने डरले वडाध्यक्ष उल्टै हामीमाथि आक्रामक रूपमा जाइलागे। राज्यकोषको रकममा भइरहेको कामको हिसाब माग्दा कुटिनुपर्ने यो कस्तो लोकतन्त्र हो?”

घटनाको भिडियो र विवरणहरू सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि चौतर्फी रूपमा वडाध्यक्षको गुण्डागर्दी शैलीको आलोचना भइरहेको छ। स्थानीय नागरिक समाज र अगुवाहरूले विकास निर्माणका काममा पारदर्शिता र जनउत्तरदायित्व कायम हुनुपर्नेमा जोड दिएका छन् । जनप्रतिनिधिले नागरिकको प्रश्न र चासोलाई सुधारको अवसरका रूपमा लिनुको साटो दबाउन खोज्नु खेदजनक रहेको उनीहरूको ठहर छ ।

घटनाका सम्बन्धमा वडाध्यक्ष रामेश्वर प्रसाद साह कलवारको औपचारिक प्रतिक्रिया र प्रष्टीकरण लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। यता, स्थानीय बासिन्दाहरूले भने आरोपित वडाध्यक्षमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने र बहुवरीमा भइरहेको सडक निर्माण कार्यको प्राविधिक टोलीद्वारा निष्पक्ष छानबिन (ल्याब टेस्ट) गरिनुपर्ने माग राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्। दबाब बढेसँगै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायले घटनाको सत्यतथ्य बुझ्न आवश्यक कदम चाल्ने तयारी गरेको बुझिएको छ।


सम्बन्धित समाचार
भर्खरै