७ जेठ, काठमाडौँ । नेकपा (एमाले) को भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले पार्टीका शीर्ष नेता, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको व्यापक कार्यविभाजन र जिम्मेवारी बाँडफाँडको प्रस्ताव पारित गर्ने तयारी गरेको छ। गत सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुख र सङ्गठन इन्चार्जहरूको कार्ययोजनासहितको नामावली प्रस्ताव गरेका थिए। सो दिन नेताहरूको सम्बोधनमै समय सकिएकाले थाती रहेको उक्त प्रस्ताव भोलिको बैठकबाट ठोस निर्णयसहित पारित हुन लागेको हो।
एमालेको नयाँ कार्ययोजना अनुसार यस पटक पदाधिकारीहरूको जिम्मेवारीमा केही परिमार्जन गर्दै उपाध्यक्ष, महासचिव र उपमहासचिवहरूलाई केन्द्रमा विभिन्न विभागहरूको संयोजन गर्ने प्रमुख भूमिका दिइएको छ भने सचिवहरूलाई प्रदेश भूगोलको इन्चार्ज तोकेर फिल्डमा खटाउने तयारी गरिएको छ। सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने ऐतिहासिक निर्णय गरिसकेको पृष्ठभूमिमा यो कार्यविभाजनलाई एमालेले विशेष महत्वका साथ हेरेको छ।
प्रस्तावित सूची अनुसार एमालेले सचिवहरूलाई विभिन्न प्रदेशको जिम्मेवारी सुम्पिएको छ। जसअनुसार कोसी प्रदेशको इन्चार्जमा शेरधन राई, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा छविलाल विश्वकर्मा र कर्णाली प्रदेशको इन्चार्जमा यमलाल कँडेललाई प्रस्ताव गरिएको छ। पदाधिकारी बाहेकका नेताहरूमध्ये लिलानाथ श्रेष्ठलाई मधेश प्रदेश र दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोक्ने कार्ययोजना छ।
केन्द्रमा विभागहरूको संयोजनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरू, विष्णुप्रसाद पौडेललाई पार्टी सम्बद्ध विभागहरू, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र रघुजी पन्तलाई मानवस्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ।
यसैगरी, महासचिव शङ्कर पोखरेललाई पार्टीको समग्र सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको शक्तिशाली जिम्मेवारी दिने तयारी छ। उपमहासचिवहरूमध्ये लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरू र योगेश भट्टराईलाई नीति तथा योजना सम्बद्ध विभागहरूको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ।
सचिवालयका अन्य सचिवहरूमध्ये पद्माकुमारी अर्याललाई संसदीय मामिला विभाग, भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र हिक्मतकुमार कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ। पदाधिकारी सङ्ख्यामा नरहे पनि एमालेका प्रभावशाली नेताहरू प्रदीप ज्ञवालीलाई विदेश विभाग, शेरबहादुर तामाङलाई पार्टी स्कुल विभाग र विशाल भट्टराईलाई जनसङ्गठन समन्वय संयन्त्रको प्रमुख जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा प्रस्ताव गरिएको छ।
अध्यक्ष ओलीले पेस गरेको प्रस्तावमा विभिन्न महत्त्वपूर्ण विभाग र फाँटहरूको नेतृत्व केन्द्रीय सदस्यहरूलाई सुम्पिने उल्लेख छ। जसअनुसार डा। सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभाग, गोकुल बास्कोटालाई भूमि व्यवस्था, रामकुमारी झाँक्रीलाई सहरी विकास, विन्दा पाण्डेलाई श्रम तथा रोजगार, रमेश बडाललाई कानुन, र अग्निप्रसाद खरेललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुखमा प्रस्ताव गरिएको छ।
त्यस्तै, आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन, कर्ण थापालाई उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वाला साहलाई कृषि तथा पशुपन्छी विकास, ठाकुर गैरेलाई खानेपानी तथा सरसफाइ, देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात, र राजेन्द्र गौतमलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिने तयारी छ।
पार्टीका अन्य आन्तरिक संरचनातर्फ डा भीष्म अधिकारीलाई वित्त तथा कोष व्यवस्थापन, नीरुदेवी पाललाई अध्यक्ष केपी शर्मा ओली तथा नेशनल भोलेन्टियर फोर्स इन्चार्ज, अमन मास्केलाई इन्जिनियरिङ फाँट, रश्मी आचार्यलाई विद्यार्थी फाँट र क्षितिज थेबेलाई युवा फाँट इन्चार्जको भूमिका प्रस्ताव गरिएको छ। महिला फाँटमा टुकाभद्रा हमाल, कानुन फाँटमा कृष्णभक्त पोखरेल, र प्रवासी नेपाली मञ्च युरोपको इन्चार्जमा घनश्याम पाण्डेलाई जिम्मेवारी तोक्ने गरी भोलिको बैठकमा अन्तिम छलफल हुन लागेको छ। भोलिको सचिवालय बैठकले यस प्रस्तावित सूचीलाई अनुमोदन गरेसँगै एमालेका नेताहरू नयाँ जिम्मेवारीसहित देशव्यापी रूपमा परिचालित हुनेछन्।


















