८ जेठ,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल भइरहेको छ।
गत जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रस्तावमाथि आज विस्तृत छलफल गरी टुंगो लगाउने तयारी गरिएको एमाले नेताहरूले बताएका छन्। बैठकबाट पारित हुने कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी तथा सम्बन्धित नेताहरूलाई पठाइने जनाइएको छ।
एमालेले ११औँ महाधिवेशनपछि हालसम्म नेताहरूको अस्थायी कार्यविभाजन मात्रै गरेको थियो। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यसपटक नेताहरूलाई नयाँ ढंगले जिम्मेवारी बाँडफाँट गर्न लागिएको पार्टीले जनाएको छ।