८ जेठ,ठोरी । सुवर्णपुरस्थित ज्ञानवाटिका माध्यमिक विद्यालयमा शुक्रबार वन तथा वातावरण संरक्षण सम्बन्धी एक दिने स्कुल शिक्षा कार्यक्रम सम्पन्न भएको छ। पर्सा राष्ट्रिय निकुञ्जको आर्थिक सहयोग तथा सुनाखरी उपभोक्ता समिति सुवर्णपुरको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई वन तथा वातावरण संरक्षण, जैविक विविधता, पर्यापर्यटन र वन्यजन्तु संरक्षणका विषयमा अभिमुखीकरण गरिएको थियो।
पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णु रोकायले संरक्षणको महत्व, आवश्यकता र यसले पर्यापर्यटन तथा वातावरण संरक्षणमा पुर्याउने फाइदाबारे सहजीकरण गरेका थिए। कार्यक्रममा विद्यालयको ईको क्लबसँग आवद्ध २ दर्जनभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेवारको प्रमुख आतिथ्यतामा तथा सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रीनको अध्यक्षतामा सम्पन्न भएको थियो।
त्यस्तै, ठोरी–५ का वडा सदस्य निशा खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू कान्छीमाया लामा, रुपा परियार, फूर्बा घ्याम्जो मोक्तान लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले वन तथा वातावरण संरक्षणको महत्व र आवश्यकताबारे जोड दिएका थिए।
यसैबीच, सुनाखरी उपभोक्ता समितिले विगतदेखि नै विद्यालयमा संरक्षण तथा शिक्षा सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। समितिले आर्थिक अवस्था कमजोर, जेहेन्दार तथा वन्यजन्तु प्रभावित क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति, संरक्षण सम्बन्धी हाजिरीजवाफ तथा वृक्षारोपण कार्यक्रम गर्दै आएको छ।
समितिका सचिव जीवन श्रेष्ठका अनुसार यस वर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थी तथा विपन्न विद्यार्थीलाई जनही रु. २ हजारका दरले छात्रवृत्ति वितरण गर्ने तयारी गरिएको छ।


















