Logo

 ८ जेठ,काठमाडौं ।  परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारततर्फको निर्यातमा देखिएको अवरोध कूटनीतिक पहलपछि हटेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण उत्पन्न समस्या भारतीय पक्षले संशोधन गरेपछि समाधान भएको हो।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयबीचको समन्वयपछि नेपाली चिया निकासी पुनः सहज भएको जानकारी दिए।

यसैबीच नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा हुने तय भएको छ। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव र चीनका लागि नेपाली राजदूतले सह–अध्यक्षता गर्नेछन्। त्यसैगरी नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रका बैठक आयोजना गर्ने तयारी गरेको छ।

मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालन भएका अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी छ। हालसम्म ६८७ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई सातामा मात्र ७१ जना थपिएका छन्।

त्यस्तै कम्बोडियाका जेलमा रहेका २९ नेपाली नागरिकका लागि कानुनी सहायता उपलब्ध गराउन पहल भइरहेको छ भने म्यानमारमा रहेका नेपालीका लागि कैद मिनाहासम्बन्धी कूटनीतिक प्रयास अघि बढाइएको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक मोबाइल एप जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको छ। विदेशमा रहेका नेपालीलाई परामर्श र आपतकालीन सहयोग उपलब्ध गराउने उद्देश्यले एप ल्याउन लागिएको हो।

यसैगरी व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणाली विस्तार गरिएको छ। राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको छ, जसलाई असार अन्तिम सातादेखि पूर्ण रूपमा लागू गर्ने योजना छ।

मन्त्रालयले संक्रमणकालीन व्यवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै