Logo

८ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको शुक्रबारको बैठक सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बसेको बैठक केहीबेरअघि सकिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले आजको बैठकमा ५ जना उपाध्यक्षहरूले मात्र आफ्ना कुरा राखेको बताए। उनका अनुसार सचिवालयका बाँकी १२ जना नेताहरूले शनिबार बस्ने बैठकमा आ-आफ्नो धारणा राख्नेछन्।

यसअघि ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनलाई यसै बैठकबाट अन्तिम रूप दिने तयारी गरिए पनि आज उक्त विषयले बैठकमा प्रवेश पाएको छैन। नेताहरूको जिम्मेवारी बाँडफाँट र कार्यविभाजनको खाकामा केही परिमार्जन र संशोधन गर्नुपर्ने माग नेताहरूले राखेपछि यसबारे भोलि मात्र छलफल हुने भएको हो।

“कार्यविभाजनको विषयमा आज प्रवेश भएन। केही विषयमा संशोधन गरेर जानुपर्ला भन्ने कुराहरू योजनामै आउँदा हाम्रा कुरा राख्छौँ भन्नुभएको छ,” उपमहासचिव भट्टले भने, “भोलि साढे ११ बजे फेरि बैठक सुरु हुन्छ। भोलि १२ जना बाँकी छौँ।”

अर्को बैठक शनिबार बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवास गुण्डुमा पुन: बस्ने तय भएको छ। भोलिको बैठकमा बाँकी सदस्यहरूले धारणा राखेपछि मात्रै कार्यविभाजनको प्रस्तावमाथि ठोस निर्णय हुने र केन्द्रीय कमिटी बैठकको मिति तय गरिने बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै