Logo

९ जेठ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी संगठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल गरिने भएको छ।

पार्टी नेता शैलेन्द्र शाहका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा पार्टीको भावी रणनीतिमाथि केन्द्रित भएर छलफल हुनेछ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकता भएपछि बस्न लागेको यो पहिलो केन्द्रीय समिति बैठक भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ। बैठकमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनुका साथै पार्टी केन्द्रीय कार्यालय व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी, पार्टीका विभिन्न तहका संगठनहरूको समायोजनलाई प्राथमिकतामा राखिएको छ। केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका, वडा तथा टोल समितिसहित भ्रातृ र शुभेच्छुक संगठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण तथा अद्यावधिकका विषयमा बैठकले निर्णय गर्ने जनाइएको छ।

बैठकमा केन्द्रीय समन्वय समिति सदस्यहरूको कार्यविभाजन, प्रदेश सरकार र संघीय दलबीच समन्वय तथा परामर्श समिति गठन, स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य तथा सदस्यता नवीकरण र अद्यावधिकका विषय पनि समावेश गरिएको स्रोतले जनाएको छ।

यस्तै, जिल्ला, पालिका तथा संघीय निर्वाचन क्षेत्रस्तरीय पार्टी अभिमुखीकरण, मेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनबारे पनि छलफल हुने भएको छ। प्रतिनिधि सभा निर्वाचन २०७९ मा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय मेला तथा अन्तरक्रियाबारे समेत बैठकले निर्णय गर्ने तयारी गरेको छ।

पार्टीले यस बैठकलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै