९ जेठ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाको विस्तारित बैठक शनिबार विवादपछि तनावपूर्ण बनेको छ।कलैयामा आयोजित बैठकमा प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल तथा नेता चन्दन सिंह सहभागी थिए।
बैठकका क्रममा संस्थापक समूह र वर्तमान नेतृत्व पक्षबीच चर्काचर्की भएपछि अवस्था तनावपूर्ण बनेको सहभागीहरूले बताएका छन्। कार्यकर्ताहरूका अनुसार केही नेताले संस्थापक पक्षमाथि दबाब सिर्जना गर्ने प्रयास गरेपछि विवाद अझ चर्किएको थियो।
त्यसपछि आक्रोशित कार्यकर्ताले विरोध जनाउँदै केही नेताहरूलाई बैठकस्थलबाट बाहिर निकालेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
नेपाल प्रहरी ले विवादमा परेका नेताहरूलाई सुरक्षा घेरामा राख्दै सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।
यसअघि बारा जिल्लाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार को सदस्यता खारेज भएपछि पार्टीभित्रको आन्तरिक असन्तुष्टि थप चर्किएको बताइएको छ।