Logo

९ जेठ,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक शनिबार बिथोल्ने प्रयास भएपछि कार्यक्रम स्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

जिल्ला सभापति चन्दन स्वर्णकार लाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनका समर्थकहरूले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गर्दै विरोध जनाएका थिए।

स्थानीय सांसद गणेश धिमाल का अनुसार, स्वर्णकार पक्षधर कार्यकर्ताले बैठक बिथोल्ने प्रयास गरे पनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु गरिएको थियो।

स्वर्णकारलाई पार्टीबाट निष्कासन गर्न नहुने माग गर्दै उनका समर्थकहरूले बारा क्षेत्रका सांसदहरूमाथि नाराबाजी गरेका थिए। सो क्रममा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साहचन्दन सिंह माथि हातपातको प्रयास समेत भएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ठूलो संख्यामा परिचालन गर्दै सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो। हाल कलैयाको करणराज होटलमा सुरक्षा घेराबन्दीबीच बैठक सञ्चालन भइरहेको जनाइएको छ।

पार्टीबाट निष्कासनमा परेका स्वर्णकारले भने बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरूलाई मात्रै समेटेर जिल्ला समिति बनाउने प्रयास गरेपछि पुराना कार्यकर्ताले विरोध जनाएको दाबी गरेका छन्।


सम्बन्धित समाचार