Logo

१० जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोलीबारी भएको छ । घटनामा गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय युनाईटेड स्टेट्स सिक्रेट सर्विसको जवाफी कारबाहीमा मारिएका छन् ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा उक्त घटना भएको हो ।

सिक्रेट सर्विसले जारी गरेको विज्ञप्तिअनुसार ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए । त्यसपछि ड्युटीमा रहेका सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका बन्दुकधारीलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

घटनापछि ह्वाइट हाउस परिसरमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । गोली चलेको आवाज सुनिएपछि त्यहाँ रहेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा ‘प्रेस ब्रिफिङ रुम’ भित्र सारेका थिए भने सम्पूर्ण ह्वाइट हाउस क्षेत्रलाई तत्काल ‘लकडाउन’ गरिएको थियो । करिब एक घण्टापछि मात्रै सुरक्षा प्रतिबन्ध हटाइएको जनाइएको छ ।

सिक्रेट सर्विसका अनुसार घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै उपस्थित थिए । यद्यपि, घटनाबाट राष्ट्रपति वा अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कुनै असर नपरेको तथा सरकारी कार्यसम्पादन नियमित रहेको जनाइएको छ ।

सिबिएस न्यूजका अनुसार बन्दुकधारीले एक्लै सुरक्षाकर्मीलाई लक्षित गर्दै आक्रमणको प्रयास गरेका थिए । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा १५ देखि ३० राउन्डसम्म गोली चलेको आवाज सुनेको बताएका छन् ।

घटनापछि ह्वाइट हाउस वरपरको क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सुरक्षा अधिकारी परिचालन गरिएको छ । सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाबारे संयुक्त अनुसन्धान सुरु गरेका छन् । बन्दुकधारीको पहिचान तथा आक्रमणको उद्देश्यबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै