Logo

१० जेठ, काठमाडौँ । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति सङ्घर्ष र तीव्र मतभेदका बीच केन्द्रीय सचिवालयको बैठक आज (आइतबार) पनि बस्दै छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बिहान ११:३० बजे बैठक सुरु हुने कार्यतालिका छ ।

शनिबार दिनभर बसेको बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएका कारण बैठक आजका लागि लम्ब्याइएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा दुई दिनदेखि नेताहरूले उठाएका गम्भीर राजनीतिक तथा साङ्गठनिक प्रश्नहरूको आज अध्यक्ष ओली आफैँले जवाफ दिने तयारी छ ।

शनिबारको बैठकमा पार्टीका शीर्ष नेता र पदाधिकारीहरूले नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि पोखेका थिए । बैठकमा महासचिव शङ्कर पोखरेलसहित तीन जना उपमहासचिव र चार जना सचिवहरूले आफ्नो धारणा राख्दै नेतृत्वको गम्भीर समीक्षा हुनुपर्ने माग गरे ।

विशेष गरी शुक्रबार र शनिबार दुवै दिनको बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको साङ्गठनिक ओरालो यात्रा, वैचारिक स्खलन र सत्ता सञ्चालनमा देखिएको कमजोरीको मुख्य जिम्मेवार अध्यक्ष ओली नै रहेको भन्दै उहाँको कडा आलोचना गरेका थिए ।

बैठक स्रोतका अनुसार एमालेका प्रभावशाली नेताहरूले पार्टीलाई नयाँ गति दिन र आसन्न निर्वाचनहरूमा सम्भावित क्षतिबाट जोगाउनका लागि अध्यक्ष ओलीले अब विश्राम लिनुपर्ने मत राखेका छन् । “पार्टीमा नयाँ पुस्ताको नेतृत्व र रूपान्तरण अपरिहार्य भइसकेको भन्दै अधिकांश वक्ताहरूले अध्यक्ष ओलीलाई तत्काल राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न खुलेरै आग्रह गरेका छन्,” स्रोतले भन्यो ।

पार्टीभित्र ‘पावरफुल’ मानिने अध्यक्ष ओलीमाथि आफ्नै विश्वासपात्र र पदाधिकारीहरूबाटै राजीनामाको दबाब आउनुलाई एमालेभित्र ठूलो राजनीतिक हलचलका रूपमा हेरिएको छ । आज अध्यक्ष ओलीले दिने जवाफ र त्यसपछि विकसित हुने समीकरणले एमालेको आगामी राजनीतिक दिशा तय गर्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार