Logo

१० जेठ, पोखरा । पोखरा महानगरपालिकाले लामो समयदेखि विवाद र बहसको विषय बनेको फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने अभियान सुरु गरेको छ। महानगरले शनिबार बिहानदेखि तीन स्थानबाट एकसाथ डोजर परिचालन गर्दै खोलाको प्राकृतिक बहाव क्षेत्र खाली गराउने काम अघि बढाएको हो।

धनराज आचार्य को नेतृत्वमा सम्बन्धित वडाध्यक्ष तथा महानगरका प्राविधिक टोलीसहित बिहान १० बजेदेखि संरचना हटाउने अभियान सुरु गरिएको हो। महानगरले फिर्केखोलाको सीमा मिचेर बनाइएका घर, संघसंस्थाका भवन, व्यावसायिक संरचना तथा अन्य स्थायी-अस्थायी निर्माण हटाएर दीर्घकालीन रूपमा करिडोर निर्माण गर्ने योजना अघि सारेको जनाएको छ।

पहिलो चरणमा जिरो किलोमिटर र सिर्जना चोकको बीच क्षेत्रमा फिर्केखोलामाथि निर्माण गरिएका संरचना हटाउन थालिएको छ। यस क्षेत्रमा डोजरले लायन्स क्लबको भवन आसपासबाट भत्काउने काम सुरु गरेको छ भने अभियान क्रमशः वडा नम्बर ६ तर्फ अघि बढ्ने महानगरले जनाएको छ।

त्यसैगरी अर्को टोलीले वडा नम्बर २ र १८ को सीमास्थित अँधेरी कुनाबाट संरचना हटाउन सुरु गरेको छ। यो टोली क्रमशः वडा नम्बर ४ तर्फ अघि बढ्नेछ। तेस्रो टोलीले वडा नम्बर ४ र ५ को सीमास्थित फिर्केपुल–बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट डोजर अभियान सुरु गरेको छ, जुन वडा नम्बर ५ हुँदै वडा नम्बर ८ सम्म विस्तार हुने बताइएको छ।

महानगरपालिकाका अनुसार २०८० साल असारमा गरिएको फिर्केखोलाको नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र परेका सम्पूर्ण संरचना हटाउन लागिएको हो। उक्त प्रतिवेदनले खोलाको प्राकृतिक सीमा मिचेर निर्माण गरिएका करिब १६० वटा संरचना पहिचान गरेको थियो।

ती संरचनामध्ये सरकारी कार्यालय, प्रदेश प्रहरीका भवन, समाजघर, संघसंस्थाका कार्यालयदेखि निजी आवाससम्म समावेश छन्। खोलाघर अतिक्रमण गरेर निर्माण गरिएका संरचनाले वर्षायाममा बाढी तथा डुबानको जोखिम बढाएको निष्कर्षसहित महानगरले हटाउने निर्णय गरेको हो।

यसअघि महानगरपालिकाले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै खोलाघरभित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचना जेठ ९ गतेभित्र स्वयम् हटाउन आग्रह गरेको थियो। निर्धारित समयसीमा सकिएपछि महानगरले आजबाट बल प्रयोग गर्दै डोजर अभियान सुरु गरेको हो।

महानगरले संरचना हटाउने तयारी गरेपछि केही संघसंस्था तथा स्थानीय बासिन्दाले भने आफ्ना संरचना आफैं हटाउन थालेका थिए। फिर्केखोलाभित्र निर्माण भएका फोटोग्राफर संघ, लायन्स क्लब लगायतका केही संस्थाले डोजर पुग्नुअघि नै भवन तथा टहरा हटाएका छन्।

फिर्केखोलाको अतिक्रमण हटाउने विषय पोखरामा वर्षौंदेखि राजनीतिक र सामाजिक बहसको केन्द्र बनेको थियो। खोलाघर संरक्षणको माग गर्दै विभिन्न समयमा नागरिक स्तरबाट दबाब सिर्जना हुँदै आएको थियो भने अर्कोतर्फ संरचना हटाउँदा विस्थापन र क्षतिपूर्तिको विषय पनि उठ्दै आएको थियो।

महानगरपालिकाले भने यो अभियान कुनै व्यक्ति वा संस्थालाई लक्षित नभई प्राकृतिक सम्पदा संरक्षण र सहरी व्यवस्थापनको दीर्घकालीन योजनाअन्तर्गत अघि बढाइएको जनाएको छ। महानगरका अनुसार खोलाको बहाव क्षेत्र खुला बनाएर हरित करिडोर, पदमार्ग र व्यवस्थित जलनिकास प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको छ।

स्थानीय प्रशासनले अभियानका क्रममा सम्भावित अवरोध रोक्न सुरक्षा व्यवस्था पनि कडा बनाएको छ। डोजर परिचालन गरिएका क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।

फिर्केखोलाको खोलाघर खाली गराउने अभियानले पोखरामा नदी तथा खोलानाला अतिक्रमणविरुद्धको अभियानलाई नयाँ मोड दिएको छ। महानगरले आगामी दिनमा अन्य खोलानालामा भएको अतिक्रमण हटाउने अभियान पनि निरन्तर अघि बढाउने संकेत गरेको छ।


सम्बन्धित समाचार