Logo

१० जेठ,काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ले प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको कमजोर परिणामपछि पार्टीभित्र औपचारिक आत्मसमीक्षा सुरु गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव को अध्यक्षतामा शनिबारदेखि केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा निर्वाचन पराजयका कारण, संगठनात्मक कमजोरी तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भइरहेको पार्टीले जनाएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन भने समानुपातिकतर्फ आवश्यक मत प्राप्त गर्न नसक्दा राष्ट्रिय दल बन्न आवश्यक थ्रेसहोल्डसमेत पार गर्न असफल भएको थियो। यही परिणामलाई लिएर पार्टीभित्र अहिले व्यापक समीक्षा सुरु गरिएको हो।

बैठकमा सहभागी केन्द्रीय सदस्य शैलेन्द्र साह का अनुसार निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसक्नुका कारणबारे नेताहरूले फरक–फरक धारणा राखेका छन्। केही नेताहरूले पार्टी नेतृत्वको कार्यशैली, जनतासँगको सम्बन्ध कमजोर बन्दै जानु, संगठन विस्तारमा सुस्तता तथा राजनीतिक एजेन्डा प्रभावकारी रूपमा स्थापित गर्न नसक्नु पराजयका प्रमुख कारण भएको बताएका छन्।

बैठकमा पार्टीभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्व शैलीमाथि पनि प्रश्न उठाइएको छ। केही सदस्यहरूले लामो समयसम्म पार्टी नेतृत्व सीमित घेराभित्र केन्द्रित हुँदा तल्लो तहका कार्यकर्ता निराश भएको धारणा राखेका छन्। उनीहरूले संगठनलाई पुनर्जीवित गर्न नयाँ ढंगको राजनीतिक अभियान आवश्यक रहेको बताएका छन्।

त्यस्तै, केही नेताहरूले बाह्य प्रभाव र विदेशी शक्तिको हस्तक्षेपका कारण पनि पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको दाबी गरेका छन्। चुनावी प्रक्रियामा राज्य संयन्त्रको भूमिकामाथि समेत प्रश्न उठाइएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

केन्द्रीय सदस्य शैलेन्द्र साहका अनुसार केही सदस्यहरूले निर्वाचन अवधिमा नेपाली सेनाको गतिविधिप्रति समेत प्रश्न उठाएका थिए। यद्यपि ती विषयमा विस्तृत निष्कर्ष भने बैठकको आगामी चरणमा निकालिने जनाइएको छ।

‘बैठकमा निर्वाचनको समग्र समीक्षा, संगठन पुनर्संरचना, संगठन विस्तार तथा भविष्यको रणनीतिलाई प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू आएका छन्,’ साहले भने।

बैठकको पहिलो दिन विभिन्न प्रदेश तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। धारणा राख्ने नेताहरूमा बिनोद सिंह, चन्देश्वर पासमान, मुकेश झा, बलविर नेपाली, अम्बिका काफ्ले, हेम्मा बेलवासे, निलम यादव, चमेली दास तत्मा, पिंकी यादव लगायत रहेका थिए।

उनीहरूले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्न स्पष्ट राजनीतिक दृष्टिकोण, प्रभावकारी जनसम्पर्क अभियान, संगठन सुदृढीकरण तथा नेतृत्व शैलीमा सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।

विशेषगरी मधेश केन्द्रित राजनीति कमजोर बन्दै गएको वर्तमान परिस्थितिमा जसपा नेपालले आफूलाई पुनर्गठन नगरे आगामी दिनमा थप चुनौती सामना गर्नुपर्ने धारणा बैठकमा व्यक्त भएको बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार मधेश आन्दोलनबाट स्थापित दलहरू पछिल्ला वर्षहरूमा सत्ताकेन्द्रित राजनीतिमा अल्झिँदा जनविश्वास कमजोर बन्दै गएको छ। जसपाको वर्तमान अवस्था पनि त्यही प्रवृत्तिको परिणामका रूपमा हेरिएको छ।

केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहनेछ। दोस्रो दिनको बैठकमा निर्वाचन पराजयका प्रमुख कारणबारे औपचारिक निष्कर्ष निकाल्नुका साथै संगठन पुनर्गठन र भावी रणनीतिबारे ठोस निर्णय हुन सक्ने जनाइएको छ।


सम्बन्धित समाचार