Logo

१० जेठ,काठमाडौं । नेपाल एयरलाइन्स को सञ्चालक समिति सदस्य नियुक्ति प्रक्रिया विवादमा तानिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले वैशाख ३१ गते पाँच जना सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय गरेपछि उक्त नियुक्तिमा चलखेल भएको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको हो।

मन्त्रालयले कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँकी रुपा लामिछाने तथा स्याङ्जाका लिलाराज ढकाल लाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यो नियुक्ति विभागीय मन्त्री खडक राज पौडेल को मन्त्रीस्तरीय निर्णयबाट गरिएको हो। तर खुला प्रतिस्पर्धामा सहभागी उम्मेदवारहरूको प्राप्तांकलाई बेवास्ता गर्दै राजनीतिक पहुँच र चलखेलका आधारमा नियुक्ति गरिएको आरोप लागेको छ।

सञ्चालक सदस्य पदका लागि २०८३ वैशाख १२ गते गोरखापत्रमार्फत दरखास्त आह्वान गरिएको थियो। कुल २७ जनाले आवेदन दिएकोमा २४ जनालाई वैशाख २७ गते अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको स्रोतले जनाएको छ।

उजुरीकर्ताहरूका अनुसार मूल्याङ्कन प्रक्रियामा कम अंक ल्याएका व्यक्तिलाई प्रभावका आधारमा नियुक्त गरिएको छ। मन्त्रालयका सहसचिव जयराज आचार्य ले जारी गरेको सूचनामा शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट गरिएको उल्लेख भए पनि वास्तविक मेरिटलाई बेवास्ता गरिएको दाबी उजुरीमा गरिएको छ।

नेपाल वायुसेवा निगम ऐन २०१९ तथा नियमावलीअनुसार सञ्चालक नियुक्तिमा शैक्षिक योग्यतालाई ४ अंक, अनुभवलाई ४ अंक, व्यावसायिक कार्ययोजनालाई १५ अंक, प्रस्तुतीकरणलाई १५ अंक तथा अन्तर्वार्तालाई १० अंकभार तोकिएको छ।

उजुरीमा वर्तमान सरकारले ‘जेनजी आन्दोलन’पछि सुशासन र पारदर्शिताको प्रतिबद्धता जनाए पनि मन्त्रालयस्तरमा गरिएको यो नियुक्तिले सरकारकै प्रतिबद्धतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।

उजुरीकर्ताले प्राप्तांकसहितको विस्तृत नतिजा सार्वजनिक गर्न तथा आवश्यक छानबिनपछि मात्र नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयसँग माग गरेका छन्। स्रोतका अनुसार यस विषयमा प्रधानमन्त्री कार्यालयमा प्रारम्भिक ब्रिफिङसमेत भइसकेको छ र आन्तरिक रूपमा छानबिन भइरहेको दाबी गरिएको छ।

यता मन्त्रालयले भने नियुक्ति प्रक्रिया पूर्ण रूपमा पारदर्शी र योग्यताका आधारमा भएको दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य ले कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा नातावाद नभएको बताएका छन्।

उनका अनुसार कानुनी रूपमा मन्त्रीले प्रत्यक्ष नियुक्ति गर्न सक्ने व्यवस्था हुँदाहुँदै पनि यसपटक खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो।

‘विज्ञ टोलीले उम्मेदवारहरूको कार्ययोजना गोप्य रूपमा मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका व्यक्तिहरूलाई नै मेरिटका आधारमा नियुक्त गरिएको हो,’ आचार्यले बताएका छन्।

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीबारे प्रतिक्रिया दिँदै उनले उजुरी हाल्नु स्वाभाविक प्रक्रिया भए पनि नियुक्ति विधिसम्मत, पारदर्शी र मेरिटमा आधारित रहेको दाबी गरे।

मन्त्रालयका अनुसार नेपाल एयरलाइन्सको खस्कँदो साख सुधार गर्न, संस्थागत सुधारलाई गति दिन तथा व्यावसायिक व्यवस्थापन सुदृढ बनाउन योग्य व्यक्तिहरूलाई सञ्चालक समितिमा ल्याइएको हो।

तर नियुक्ति प्रक्रियामाथि उठेका प्रश्नले सरकारी नियुक्तिमा पारदर्शिता, सुशासन र राजनीतिक प्रभावबारे फेरि बहस सुरु गराएको छ।


सम्बन्धित समाचार