१० जेठ, काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी स्थित सौराई स्क्वायरमा शनिबार आयोजित भेलामा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानर राखिएको छ।
भेलामा देउवा समूहका प्रभावशाली नेताहरूको उपस्थिति रहेको छ। कार्यक्रममा रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत तथा केदार कार्की लगायतका नेताहरू सहभागी भएका छन्।
पार्टीभित्रको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत सक्रियताका बीच देउवा समूहले प्रदेशस्तरमा शक्ति प्रदर्शनसहित संगठन पुनः सक्रिय बनाउने प्रयासस्वरूप यो भेला आयोजना गरेको राजनीतिक वृत्तमा चर्चा छ।
भेलामा सहभागी नेताहरूले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचन र राजनीतिक चुनौती सामना गर्न संगठनलाई तल्लो तहसम्म मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।


















