१० जेठ,काठमाडौं । नेकपा एमाले को जारी सचिवालय बैठकमा पार्टी नेतृत्व परिवर्तनको विषय तीव्र रूपमा उठेपछि अध्यक्ष केपी शर्मा ओली ले आफूलाई कुन प्रक्रियाबाट हटाउने भन्ने प्रश्न गरेका छन्।
जेठ ४ गतेदेखि जारी सचिवालय बैठकमा बहुसंख्यक सदस्यहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि अध्यक्ष ओली दबाबमा परेको एमाले स्रोतले जनाएको छ। बैठक आइतबार पनि जारी रहेको छ भने अध्यक्ष ओलीको औपचारिक जवाफ दिन बाँकी रहेको बताइएको छ।
बैठकमा सचिवालय सदस्यहरूको धारणा सुनेपछि ओलीले पार्टीको विधान र प्रक्रियाको विषय उठाउँदै आफूलाई हटाउने भए कुन विधिबाट हटाउने भनेर प्रश्न गरेका हुन्।
एक नेताका अनुसार ओलीले बैठकमा भने, “राष्ट्रिय महाधिवेशन गरेको ६ महिना पनि भएको छैन, फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा नहोला। विशेष महाधिवेशन गर्नुपर्ने होला। तीन महिनाअघि गरेको तहगत अधिवेशन के गर्ने ?”
बैठकका क्रममा अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी बैठक फेस गर्न तयार रहेको संकेत पनि दिएका छन्। उनले आफूलाई हटाउनुपर्ने हो भने केन्द्रीय कमिटीमा गएर निर्णय गर्न आग्रह गरेका छन्।
“मलाई हट्नुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाऔं। एक–एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए।
शनिबारको बैठकमा ओलीले सचिवालय सदस्यहरूलाई आफूलाई धेरै सम्झाउने प्रयास नगर्न समेत चेतावनी दिएका थिए।
“किन सम्झाउँदै हुनुहुन्छ ? नसम्झाउनुस् मलाई। तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,” ओलीले भनेको एक पदाधिकारीले बताएका छन्।
ती पदाधिकारीका अनुसार ओलीले कसैले दबाब वा सुझाव दिँदैमा नेतृत्व छाड्ने अवस्था नरहेको स्पष्ट पारेका थिए। उनले एमालेलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको दाबी गर्दै नेतृत्व फेरि पनि आफूले नै गर्नुपर्ने बताएका थिए।
“पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ,” ओलीले बैठकमा भनेका थिए।
यसबीच बैठकमा मतभेद पनि चर्किएको देखिएको छ। अध्यक्ष ओलीले बैठक लामो भइरहेको भन्दै चाँडै टुंग्याउन आग्रह गरेपछि पृथ्वीसुब्बा गुरुङ ले प्रतिवाद गरेका थिए।
“के तपाईंले अरूलाई बोल्नै नदिएर बैठक सक्न लागेको हो ?” गुरुङले प्रश्न गरेको स्रोतले जनाएको छ।
ओलीले त्यसको प्रत्यक्ष जवाफ नदिए पनि बैठक सकिएको भन्दै उठ्न खोजेपछि शनिबारको बैठक स्थगित भएको बताइएको छ।
हालसम्म सचिवालय बैठकमा १४ जना सदस्यले धारणा राखिसकेका छन्। तीमध्ये १० जनाभन्दा बढी नेताले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाएको स्रोतको दाबी छ।
उपमहासचिव योगेश भट्टराई ले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझाव दिएको बताइएको छ।
बैठकमा अझै शेरधन राई, यामलाल कँडेल, भानुभक्त ढकाल तथा खगराज अधिकारी ले धारणा राख्न बाँकी रहेको जनाइएको छ।
एमालेभित्र पछिल्लो समय नेतृत्व, संगठन पुनर्गठन र भावी रणनीतिलाई लिएर तीव्र आन्तरिक बहस सुरु भएको छ। सचिवालय बैठकमा उठेका धारणा र अध्यक्ष ओलीको अडानले पार्टीभित्रको शक्ति संघर्ष थप स्पष्ट भएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।


















