१० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति तत्काल गठन नगरी वडा र पालिका अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ।
पार्टीले यसअघि रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकार लाई बर्खास्त गरेपछि जिल्ला संगठनभित्र विवाद उत्पन्न भएको थियो। त्यसपछि विवादित जिल्ला समिति भंग गर्दै केन्द्रीय तहबाट नेताहरूलाई बारा पठाएर विस्तारित बैठक आयोजना गरिएको थियो।
शनिबार आयोजित विस्तारित बैठकमा केन्द्रीय नेताहरूको सहभागितामा संगठन पुनर्संरचना र आगामी अधिवेशन प्रक्रियाबारे छलफल भएको थियो। बैठकले तत्काल जिल्ला तदर्थ समिति गठन नगर्ने तथा पहिले वडा र पालिका तहको संगठन निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको हो।
रास्वपाले वडा र पालिका अधिवेशन सम्पन्न भएपछि मात्रै जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। निर्णयअनुसार पालिका अधिवेशन आगामी जेठ १७ गते हुनेछ।
त्यसअघि तदर्थ समिति गठन भइसकेका वडाहरूमा जेठ १२ गते अधिवेशन गरिनेछ भने गठन हुन बाँकी रहेका पालिकाहरूमा जेठ १३ गते तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ।
बैठकले वडा तथा पालिका समिति गठन प्रक्रियालाई व्यवस्थित बनाउन पाँच जना प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ।
रास्वपाले संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरण अभियानअन्तर्गत देशभर वडा तथा पालिका तहमा अधिवेशन र तदर्थ समिति गठनलाई तीव्रता दिइरहेको छ। बारा जिल्लामा देखिएको विवाद समाधान गर्दै संगठनलाई पुनः सक्रिय बनाउने उद्देश्यले केन्द्रबाट प्रत्यक्ष हस्तक्षेप गरिएको पार्टी स्रोतले जनाएको छ।



















