१० जेठ,काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा सुरु भएको छ।
गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्दै आएका छन्। आजको बैठकमा बाँकी नेताहरूको प्रस्तुति सकिएपछि अध्यक्ष ओलीले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
बैठकमा यसअघि धेरै नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति आलोचना गर्दै पार्टी नेतृत्वमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्। केही नेताहरूले त नेतृत्व परिवर्तन र मार्गप्रशस्त गर्नुपर्ने धारणा समेत राखेका छन्।
ओलीको पक्षमा भने उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेत ले समर्थन जनाउँदै संकटका बेला वर्तमान नेतृत्वलाई जोगाउनुपर्ने बताएका थिए।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेल ले समेत पूर्ण रूपमा ओलीको समर्थन नगरी घुमाउरो रूपमा पार्टी अहिलेको अवस्थामा अघि बढ्न नसक्ने संकेत गरेका थिए।
उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल लगायतले ओलीको नेतृत्वमाथि प्रश्न उठाएका थिए।
यसअघि उपाध्यक्ष विष्णु पौडेल सहित केही नेताहरूले पनि नेतृत्वबारे पुनर्विचार आवश्यक रहेको धारणा राखेका थिए।
त्यसैबीच उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा उभिएका छन्।
बैठकमा आज बाँकी नेताहरूले धारणा राखेपछि अध्यक्ष ओलीले उठेका प्रश्नहरूको औपचारिक जवाफ दिने तयारी रहेको छ। एमालेभित्र नेतृत्व, संगठन पुनर्संरचना र भावी रणनीतिलाई लिएर देखिएको आन्तरिक मतभेद आजको बैठकपछि अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।


















