१० जेठ,काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताएका छन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजहरूबारे धेरै गुनासो आउने गरेको उल्लेख गर्दै नियमन प्रणाली बलियो बनाउन नियमावली आवश्यक भएको बताए।
मन्त्री पोखरेलका अनुसार शिक्षा मन्त्रालय ले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाइसकेको छ। ती मन्त्रालयबाट राय र स्वीकृति आएपछि नियमावली मन्त्रिपरिषद्मा पेस गरिनेछ।
उनले हाल विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूको अनुमति, सञ्चालन र अनुगमन प्रक्रिया स्पष्ट नभएकाले समस्या देखिएको बताए। नयाँ नियमावलीमार्फत कुन विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने, कुनलाई नमिल्ने र नियमनको ढाँचा कस्तो हुने भन्ने विषय स्पष्ट गरिने उनको भनाइ छ।
यसअघि नेपाली विश्वविद्यालय र कलेजहरू नियमन भए पनि विदेशी सम्बन्धन प्राप्त संस्थाहरू प्रभावकारी निगरानीमा नआएको उनले स्वीकार गरे।
मन्त्रीका अनुसार शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको छ—शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) नियमन नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन नियमावली।
उनले भने, “विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूबारे धेरै गुनासो आएको छ। हामीले मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पठाइसकेका छौँ। अब अर्थ र कानुन मन्त्रालयबाट स्वीकृति आएपछि मन्त्रिपरिषद्मा पेस हुन्छ।”
मन्त्री पोखरेलले विद्यालय तहमा शिक्षक दरबन्दी मिलानको काम पनि अघि बढाइएको जानकारी दिएका छन्।
सरकारले उच्च शिक्षामा गुणस्तर, पारदर्शिता र नियमन सुदृढ बनाउन विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूलाई विशेष प्राथमिकतामा राखेर कानुनी व्यवस्था कडाइ गर्ने तयारी गरेको छ।


















