१० जेठ,काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतकी सीमा मल्होत्रा ले नेपालको शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षाको विस्तारमा बेलायतले सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा बोल्दै उनले मानव पूँजी विकासलाई प्राथमिकतामा राखेर नेपालसँगको शैक्षिक सहकार्य अझ सुदृढ बनाइने बताइन्।
कार्यक्रम नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज ले आयोजना गरेको थियो। मन्त्री मल्होत्राले नेपालमा शैक्षिक पहुँच विस्तार, रोजगारी सिर्जना र अर्थतन्त्रसँग शिक्षाको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिइन्।
उनले बेलायतको प्रमुख प्राथमिकता नै शैक्षिक विकास रहेको उल्लेख गर्दै युवालाई अवसर सिर्जनामा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्। नेपालमा सञ्चालनमा रहेका बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको उनको भनाइ थियो।
भ्रमणका क्रममा उनले डा. स्वर्णीम वाग्ले, शिशिर खनाल, सस्मित पोखरेल तथा चेतनारायण आचार्य लगायतसँग भेटवार्ता गरेकी थिइन्।
नेपालका लागि बेलायतका राजदूत रब फेन का अनुसार भेटवार्तामा दीर्घकालीन लगानी, विकास सहकार्य र शिक्षा क्षेत्रको सुधारबारे छलफल भएको छ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल ले समावेशीता, प्राविधिक शिक्षा र सुशासनका क्षेत्रमा वैदेशिक सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा. रामहरि लामिछाने ले नेपालमा स्किल काउन्सिल स्थापना र गुणस्तर मापन प्रणाली विकासमा बेलायती सहयोग आवश्यक रहेको उल्लेख गरे।
शैक्षिक परामर्श व्यवसायी महासंघका महासचिव डा. उद्धव खड्का का अनुसार गत आर्थिक वर्षमा मात्र करिब २३ हजार नेपाली विद्यार्थी बेलायत अध्ययनका लागि गएको तथ्यांक प्रस्तुत गरिएको छ।
छलफलमा विभिन्न शिक्षाविद् तथा कलेज प्रतिनिधिहरूले नेपाल–बेलायत शैक्षिक सहकार्यलाई अझ व्यावहारिक र अनुसन्धानमुखी बनाउन सुझाव दिएका छन्।


















