१० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन्।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणका लागि भारत जान लागेको स्रोतले जनाएको छ।
भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै उनले भारतीय जनता पार्टी (भाजपा) का पदाधिकारीहरूसँग पनि भेटघाट गर्ने बताइएको छ।
भाजपा निकट स्रोतका अनुसार नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई विगतमा पनि भारतले औपचारिक भ्रमणका लागि आमन्त्रण गर्ने परम्परा रहँदै आएको छ। सोही अभ्यासअनुसार लामिछानेलाई पनि निमन्त्रणा गरिएको हो।
भ्रमणलाई राजनीतिक र कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। पछिल्लो समय सीमा विवाद लगायतका विषयका कारण नेपाल–भारत सम्बन्धमा केही संवेदनशीलता देखिएको पृष्ठभूमिमा यो भ्रमण अर्थपूर्ण रूपमा हेरिएको छ।