१० जेठ,काठमाडौँ । जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, ऐतिहासिक थिचोमिचो र शृंखलाबद्ध हिंसाविरुद्ध सोमबार काठमाडौँको माइतीघर मण्डलामा विद्रोहात्मक प्रदर्शन गरिएको छ।
‘जात व्यवस्था उन्मूलन मोर्चा नेपाल’ प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, मानवअधिकारकर्मी तथा बौद्धिक वर्गको सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले ६ वर्षअघि रुकुम सोतीमा अन्तरजातीय प्रेम सम्बन्धकै कारण मारिएका नवराज विकसहित ६ युवाको घटनालाई स्मरण गर्दै न्यायको माग गरेका थिए। उक्त घटनालाई जातीय विभेदविरुद्धको ऐतिहासिक प्रतीकका रूपमा लिँदै सहभागीहरूले यसलाई “विद्रोह दिवस” को रूपमा घोषणा गरिएको बताएका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले “अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाउनुपर्ने देश कस्तो गणतन्त्र हो?” भन्दै आक्रोश व्यक्त गरेका थिए। उनीहरूले जातीय विभेद अझै अन्त्य नभएको आरोप लगाउँदै लोकतन्त्र अधुरो रहेको टिप्पणी गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले भूमिहीन दलितका लागि खेतीयोग्य जमिन उपलब्ध गराउन, दलित विद्यार्थीका लागि छात्रवृत्तिसहित निःशुल्क शिक्षा सुनिश्चित गर्न तथा दलित हत्याकाण्डहरूको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न माग गरेका छन्।
उनीहरूले जातीय हिंसा र विभेद अन्त्य नगरेसम्म न्याय र समानता स्थापित नहुने भन्दै राज्यलाई ठोस नीति र कार्यान्वयनका लागि दबाब दिएका छन्।


















