Logo

१० जेठ,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा अतिक्रमण तथा भोगचलनमा रहेको जमिन फिर्ता गर्ने अभियानअन्तर्गत तीन वटा संस्थाले जग्गा खाली गरी विश्वविद्यालयलाई फिर्ता गरेका छन्।

त्रिविले ३५ दिने अल्टिमेटम जारी गरेपछि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले आफूहरूले प्रयोग गर्दै आएको जग्गा खाली गरेको जनाएका हुन्।

नेपाल प्राध्यापक संघका अध्यक्ष रमेश जोशीले विश्वविद्यालयको पत्रअनुसार जग्गा फिर्ता गरिएको पुष्टि गरे। त्यस्तै, त्रिवि प्राध्यापक संघका एक सदस्य र कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले पनि त्रिविको निर्देशनअनुसार जग्गा खाली गरिएको बताएका छन्।

त्रिवि सामान्य प्रशासन महाशाखाका अनुसार जग्गा खाली गर्न १७ संस्थालाई पत्राचार गरिएको थियो। हालसम्म तीन संस्थाले मात्र फिर्ता गरेको पत्र पठाएका छन् भने अन्य १४ संस्थाले अझै जग्गा खाली गरेका छैनन्।

त्रिविका रजिस्ट्रार महानन्द चालिसेले केही संस्थासँग समन्वय भइरहेको जानकारी दिँदै बाँकी संस्थालाई क्रमशः छलफलका लागि बोलाइने बताए। उनका अनुसार केहीले सकारात्मक प्रतिक्रिया दिए पनि चित्तबुझ्दो नभएकाले कडा कदम चाल्नुपर्ने अवस्था रहेको छ।

त्रिविले नेपाल क्रिकेट संघ (क्यान), ल्याबोरेटरी माध्यमिक विद्यालय, बीपी कोइराला मेमोरियल प्लानेटोरियम, नेपाल विद्युत् प्राधिकरण, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंकलगायत विभिन्न संघसंस्थालाई जग्गा खाली गर्न पत्र पठाएको छ।

क्रिकेट मैदानको विषयमा भने क्यानसँग समन्वय गर्दै अल्पकालीन प्रयोगका लागि मात्रै अनुमति दिने तयारी रहेको त्रिविले जनाएको छ। विश्वविद्यालयले शैक्षिक गतिविधिलाई प्राथमिकतामा राख्दै दीर्घकालीन सम्झौता नहुने स्पष्ट पारेको छ।

महालेखापरीक्षकको प्रतिवेदन तथा विश्वविद्यालयको आन्तरिक छानबिन प्रतिवेदनका आधारमा करिब २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न संघसंस्थाको प्रयोगमा रहेको देखिएको छ। त्रिविले अब बाँकी संस्थासँग वान टु वान छलफल गर्दै जग्गा फिर्ता गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।


सम्बन्धित समाचार