१० जेठ,काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
मन्त्री रावलको सचिवालयका अनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पनि एक–एक जना प्रतिनिधि सहभागी हुनेछन्।
नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ। समितिले सीमा सम्बन्धी प्राविधिक अध्ययन, तथ्य संकलन तथा आवश्यक सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा र हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली क्षेत्रबीचको रानीसैन क्षेत्रको सीमालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ। केही दिनअघि उक्त विवादका क्रममा स्थानीयबीच कुटपिटसमेत भएको थियो।
विवादकै बीच धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनमार्फत भिडियो खिच्न पुगेपछि स्थिति तनावग्रस्त बनेर झडपमा परिणत भएको बताइएको छ।
सरकारले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्राविधिक अध्ययनमार्फत विवाद समाधानको पहल थालेको जनाएको छ।


















