Logo

१० जेठ,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आर्थिक संकटका कारण लामो समयदेखि समस्याग्रस्त बनेको हेटौँडा सिमेन्ट उद्योगको निरीक्षण गर्दै उद्योग नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

आइतबार उद्योगको निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वको उद्योग बन्द हुनु दुःखद भएको उल्लेख गर्दै निजी सिमेन्ट उद्योग सञ्चालन भइरहँदा सरकारी उद्योग बन्द हुनु चिन्ताको विषय भएको बताइन्।

“हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,” मन्त्री यादवले भनिन्, “सरकार बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने तयारीमा छ।”

उनले उद्योग बन्द हुँदा रोजगारी गुम्नुका साथै देशको आर्थिक अवस्थामासमेत नकारात्मक असर पर्ने बताउँदै उद्योग सञ्चालनका लागि व्यवस्थापन, कर्मचारी र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना तथा जीर्ण मेसिन, कच्चा पदार्थ अभाव र आर्थिक संकटका कारण उद्योग बन्द अवस्थामा पुगेको जानकारी दिए।

उनका अनुसार उद्योगले पछिल्लो ११ महिनादेखि कर्मचारीलाई तलबभत्ता दिन सकेको छैन भने कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता र विद्युत् महसुल भुक्तानीसमेत गर्न नसकिएको अवस्था छ।

“तत्काल आर्थिक समस्या समाधान गर्न सकिए उद्योग पुनः नियमित सञ्चालन गर्न सकिन्छ,” साहले बताए।

वि.सं. २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। हाल उद्योगका उपकरण पुराना भइसकेकाले उत्पादन क्षमता कमजोर बन्दै गएको प्राविधिकहरूले बताएका छन्।


सम्बन्धित समाचार