१० जेठ,काठमाडौं । सरकारी निकायहरूबीच समन्वय अभावका कारण काठमाडौं उपत्यकाभित्र बिछ्याइएका खानेपानी पाइपलाइनमा रु ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति पुगेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सडक, विद्युत् तथा अन्य पूर्वाधार निर्माणका क्रममा खानेपानी पाइपलाइनमा क्षति पुगेको हो। प्रतिवेदनले क्षतिबापत सम्बन्धित निकायबाट शोधभर्ना लिनुपर्ने भए पनि हालसम्म रकम असुल हुन नसकेको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार नेपाल विद्युत् प्राधिकरणका कामका क्रममा रु १ करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको छ भने सडक विभागबाट रु २ करोड ८० हजार बराबरको क्षति भएको उल्लेख छ। यस्तै, ललितपुर महानगरपालिकाका कामका कारण रु १ करोड १२ लाख ७३ हजार तथा अन्य निकायबाट रु १ करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको महालेखाले जनाएको छ।
त्यस्तै, काठमाडौँ उपत्यकाका कोड्कु, सल्लाघारी र धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका क्रममा ठेक्का सम्झौता तोडेर नयाँ निर्माण व्यवसायीसँग सम्झौता गरिएको विषयमा पनि महालेखाले प्रश्न उठाएको छ।
प्रतिवेदनअनुसार प्रारम्भमा एक विदेशी कम्पनीसँग रु ३ अर्ब ४६ करोड ९६ लाखमा सम्झौता गरिएको थियो। उक्त कम्पनीले रु ७८ करोड ७७ लाख २५ हजार बराबरको काम सम्पन्न गरेपछि समयमै काम पूरा नभएको भन्दै ठेक्का सम्झौता अन्त्य गरिएको थियो।
पछि नयाँ निर्माण व्यवसायी छनोट गर्ने क्रममा रु २ अर्ब ५९ करोड ९९ लाख असुल गर्ने निर्णय भए पनि उक्त रकम असुल नभएको महालेखाले जनाएको छ। नयाँ ठेक्का अघि परियोजनाको लागत अनुमान रु ६ अर्ब ४७ करोड १ लाख कायम गरिएको थियो।


















